१६ चैत्र २०८०, शुक्रबार
Follow Us

५ हजार विद्यार्थीहरुलाई एनआरएनएले छात्रवृत्ति दिने

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७९, मंगलवार ०८:१७

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सार्वजनिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५ हजार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागले सोमवार जुम मार्फत बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघकी कार्यकारी अध्यक्ष रविना थापाले सो घोषणा गरेकी हुन् ।

थापाले सार्वजनिक विद्यालयमा अध्ययनरत बिपन्न विद्यार्थीहरुको सहयोगको लागि नेपाल सरकारसंघ सहकार्य गरेर सो परियोजना अघि बढाइने बताईन् । उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति, बिभिन्न संघसंस्थाको सहकार्यमा शुरुमा ५ हजार जनालाई छात्राबृद्धि दिने प्रतिबद्धता जनाएकी छन् ।

थापाले महिला शौचालय, महिला स्वास्थ्य र शिक्षाको क्षेत्रमा गैर आवासीय नेपाली संघको प्राथमिकता दिएको प्रस्ट पारिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष कुल आचार्यले संघले महिलाहसंग सहकार्य गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा संघले सहयोग गर्ने बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष डा. हेम राज शर्माले संघले कुनै पनि कार्यक्रम घोषणा गर्नु अघि पूर्वतयारीको आवश्यक रहेको बताए । उनले संघको स्थायित्वको लागि आन्तरिक आर्थिक सहयोग भन्दा अन्तराष्ट्रिय संघसँस्थाहरुसंग सहकार्य गरेर अघि बढ्न सुझाव दिए । डा. शर्माले गैरआवासीय नेपाली संघले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएको प्रति खुशि व्यक्त गरे ।

सो छात्राबृद्धिको लागि पहिलो चरणमा १० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको संघकी सचिव टिका गुरुङले जानकारी दिएकी छन् ।

सहकार्य गरेर अघि बढौं : मन्त्री रेग्मी
कार्यक्रममा प्रमुखअतिथिको रुपमा उपस्थित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल सरकार गैरआवासीय नेपालीहरुसंघ सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री रेग्मीले नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यमा महिला स्वास्थ्य, महिला जनचेतना र शिक्षाको क्षेत्रमा एमओयू गरेर अघि बढ्न सकिने बताइन् । उनले नेपाल सरकारले गैर आवासीय नेपाली संघको हरेक गतिविधिलाई नियाली रहेको र सरकार यसप्रति सकारात्मक रहेको बताउँदै एक पटकको नेपाली सधैंको नेपाली भन्ने मुल नारालाई पुरा गर्न सरकारले सहयोग गर्ने बताइन् । उनले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता विधेयक राष्ट्रिपतिकोमा रोकिए पनि निर्वाचन पछि नयां राष्ट्रपति आए पछि समस्याको समाधान हुने बताइन् ।

कार्यक्रममा संघकी महिला संयोजक संगीता मरहट्टाले महिला विभागको यस पटकको प्राथमिकता महिला तथा बालबालिका शिक्षा रहेको र महिला तथा बालबालिकाहरुको शैक्षिक स्तर बढाउन सकृय रहने बताइन् ।

करिब चार घण्टा चलेको सो कार्यक्रमा पत्रकारहरु, संघका विभिन्न पदाधिकारीहरु, महिला पदाधिकारीहरुको उपस्थिति थियो । कार्यक्रममा संघकी सहकोषाध्यक्ष यमुना भट्टराईले छात्राबृद्धिको लागि २ लाख रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गर्ने बताइन् ।

संघकी महिला उपाध्यक्ष यस्मीन बेगम सैयदको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन संघकी सचिव राधिका (टिका) गुरुङले गरेकी थिइन् ।