१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुलुक नबनेसम्म एनआरएनएको कार्यभारका प्रकृति फेरिन्नन् : डा. बद्री केसी, अध्यक्ष

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७९, मंगलवार ०६:४७

विदेशमा नेपालीलाई आपत्त पर्दा चूप लागेर बस्न सक्दैनौं : अध्यक्ष डा. बद्री केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २० औं वार्षिकोत्सव समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुबीच मेरो यो साक्षात्कार व्यक्तिगत हिसावले जीवनपर्यन्त नै सार्थक र स्मरणीय छ। गत वर्षको एनआरएन सम्मेलनयता हामी निरन्तर एनआरएन अभियानको सुदृढ एकताका लागि खटिरहेका छौं।

यसबीच समग्र एनआरएन अभियानका दीर्घकालीन लक्ष्यहरुमै सकरात्मक प्रभाव पार्ने विशेष उपलब्धीहरु हात परेका छन्। केही अन्योलले घर गर्दागर्दै हामीले सदिच्छापूर्वक गरेका प्रयासहरुबाट विकसित परिस्थितिका कारण एउटा सुनौलो भविष्यको परिकल्पनालाई बल पुगेको छ। र, अर्को महत्वपूर्ण कुरा, हामी निरन्तर संवादरत्रहने अनुकूल माहौल बनिरहेका छ। यसकै एउटा दृष्टान्त हो आजको यो वार्षिकोत्सव समारोह।

म यहाँहरु सबैलाई स्वागत गर्दागर्दै सर्वप्रथम एनआरएन वैश्विक आन्दोलनलाई सार्थक पार्ने तागत बोकेको नागरिकता विधेयकका लागि म नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय शेरवहादुर देउवाज्यूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।

यसले चाँडै राजनीतिक कोर्स पूरा गरोस्र एनआरएन समुदायले यसलाई आफ्नो मातृभूमिको विशेष उपहारका रुपमा ग्रहण गर्न पाउन–आमनेपालीहरुको चाडवाड चलिरहेको यो पावन समयमा म यही नै कामना गर्न चाहन्छु।

एनआरएनए नेपाल र नेपालीको वृहतर हितका लागि खुलेको संस्था हो। यसको मर्म मनन गर्ने हो भने यसमा राजनीति हावी हुनसक्दैन। मलाई लाग्छ, नेपालका सबै राजनीतिक दलहरुले यसप्रति बरोबर सदाशयता राखेका छन्, सहयोग गरिरहेका छन्। र, एनआरएनले पनि सल्लाहकार, सहजकर्ता र सहयोगीका रुपमा नेपाल सरकारलाई हर तहमा सघाइरहेको छ। यो आपसी सहकार्य र भरोसाको विषय हो। एनआरएनए कुनै हिसावले राजनीतिक खिचातानीको थलो हो भने त्यो निन्तात हाम्रै कारणले मात्र भएको छ। सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा म यो तथ्यलाई सम्बन्धित सबैमाझ प्रष्ट पार्न चाहन्छु।

अब हामी एउटा रचनात्मक एनआरएनए बनाउन खट्नुपर्छ। हामीले ठूलो संस्था बनायौं, संसारकै सबैभन्दा ठूलो प्रवासी संस्था बनायौं। बनाएर के त? भन्ने प्रश्न हामीलाई आम नेपालीले गर्न थालेको धेरै भयो। हामीले कामबाटै त्यसको विनम्र उत्तर दिइरहे पनि कतिपय व्यवहारमा हामी निम्छरा भएकै हौं। हामी अब यसमा गहन आत्मसमीक्षा गर्नतर्फ लागौं।

हामीले कोभिड महामारीमा विश्वभर अभरमा परेका हजारौं नेपाली वन्धुवान्धवहरुलाई उद्दार, सहयोग गर्‍यौं। अक्सिजनको हाहाकार, विदेश भूमिमका सुत्केरी चेलिवेटीको विजोग–यी यस्ता आपतमा हामी चूप लागेर बस्न सकेनौं। यी हाम्रा कर्तव्य थिए। जुन हामी निरन्तर निर्वाह गर्दै जाने नै छौं।

एनआरएन अभियानलाई रचनात्मक युगमा प्रवेश गराउन हामीले नेपाली जातिलाई समेटने सामथ्र्य बढाउँदै जानुपर्ने देखिन्छ। थाइल्याण्ड, म्यानमार र मलेसियामा छरिएका तेस्रो–चौंथो पुस्ताका नेपाली, भुटानबाट नेपाल हुँदै अमेरिका विस्थापति भएका नेपाली–यी सबैलाई मातृभूमि नेपाल नै हो भनेर अनुभूत गराउने काम अब हामीले गराउनुपर्छ। त्यो समुदायलाई जोडन सके नेपालको अर्थ–सामाजिक वृतमै नयाँ प्रभाव जन्माउन सकिन्छ। एनआरएनए त्यसका लागि अचूक मन्च हो।

हरेक दिन उज्यालो भएपछिको पहिलो प्रहर मेरो मनमा नेपाली श्रमिकहरुको तस्वीर छाउँछ। यसमा मेरो मनोविज्ञान अभ्यस्त भइसकेको छ। हामीेले जतिसुकै विशिष्ट एजेण्डाहरु लिएर अगाडि बढे पनि पसिना बेच्न प्रवासका विषम भूमिहरुमा जाने नेपाली वन्धुहरुको हितमा काम गर्न सकेनौ भने सबै उपलब्धी निरर्थक हुन्छ। पछिल्लो कालखण्डमा श्रमिकहरुलाई पहिलो प्राथमिकतामा पार्नु हाम्रो असल चेतना र वुद्धिमानी हो। विदेशमा श्रम गरिरहँदा पनि नेपालमा सामाजिक सुरक्षा कोषसँग उनीहरुको कमाइ जोड्न हामीले अथक प्रयास गरिरहेका छौं। मलाई लाग्छ, हामी यसमा चाँडै सफल हुनेछौं।

विदेशिनु वाध्यता हो, तर अवसर नेपालमै छ भन्ने सिद्ध गर्नु चाहिं हामी सबैको चुनौती हो। गर्ने काम धेरै छन्। म यतिबेला एनआरएन अध्यक्षका हिसावले आह्वान गर्न चाहन्छु– नेपालमै आम रुपले रोजगारीको अवसर सृजना गर्न एनआरएन फण्डलाई मूर्त रुप दिउँ। यसलाई यस्तो कोष बनाउँ, जसले समकालीन राजनीतिले सपना देखेको समुन्नत नेपालनिम्ति बाटो कोर्न सघाओस्। त्यसको सुरुआत श्रमिकहरुको हितबाट गरौं।

हामीसँग कार्यभारको चाङ छ–व्रिटिश गोर्खादेखि लगानी–प्रविधि हस्तान्तरणसम्म, उद्यमशीलता सहुलियतदेखि मताधिकारसम्म । नेपाल एउटा समृद्ध मुलुक नबनेसम्म हाम्रा कार्यभारका प्रकृति फेरिन्नन। यहाँहरु सबैलाई यो तथ्य ज्ञातै छ।

यावत्कुरा हुँदाहुँदै, नेपालित्व एउटा सँस्कृति हो। हामी मनका धनी छौं, स्रोतले धनि छौं, सँस्कृतिले महाधनि छौं। यही सँस्कृतिको एउटा पारखीका हिसावले यहाँहरु सबैलाई स्वागत गर्न पाउँदा म धन्य छु।

(एनआरएनएको २० औं वार्षिकत्सवको अवसरमा अध्यक्ष डा. केसीले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)