१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशमा बस्ने नेपालीलाई मताधिकार नदिएर अन्याय गरियो : डा. हेम राज शर्मा, एनआरएनए उपाध्यक्ष

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७९, मंगलवार २१:२९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुलाई नेपालको आम निर्वाचनमा मताधिकार दिन माग गरेका छन् ।

डा. शर्माले गैरआवासीय नेपाली संघद्धारा राजधानी काठमाण्डौंमा मंगलवार आयोजना गरेको ‘ग्लोवल कन्क्लेभ’ लाई सम्बोधन गर्दै कालान्तरसम्म प्रवासमा रहेका नेपालीहरुलाई मताधिकारबाट बन्चित गरिनु अन्यायपूर्ण हुने बताए ।

उनले सर्वोच्च अदालतको आदेश अनुरुप तत्काल कानुन संशोधन गरेर मताधिकारको व्यवस्था गर्न आग्रह गरे ।

डा. शर्माले अहिले प्रस्तावित गैरआवासीय नेपाली नागरिकताले विदेशमा रहेका सबै नेपालीलाई नसमेट्ने बताए । उनले एनआरएनए नागरिकताले आर्थिक, सामाजिक तथा संस्कृति अधिकारका बारेमा प्रष्ट नपारेको बताउँदै गैरआवासीय नेपाली सम्बन्धी ऐन संशोधनमा जोड दिए ।

उनले विदेशमा हाल ८ प्रकारका नेपालीहरु रहेको तर संविधानमा प्रस्तावित एनआरएनए नागरिकताले जम्मा एक प्रकारका नेपालीहरुलाई सम्बोधन गर्ने बताए ।

उनले देश बनाउने बेलामा युवाहरु विदेश पलायन हुनेक्रम बढ्नु दुखद विषय भएका जनाए ।

डा. शर्माले म्यानमार, मलेशिया, थाइल्याण्ड र फिजी लगायतका नेपालीहरुको पहिचानको लागि कानुन संशोधनको माग गरे ।