१५ चैत्र २०८०, बिहीबार
Follow Us

नवौं राष्ट्रिय खेलकुदः एपिएफ र सुदूरपश्चिमको पहिलो जित

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७९, बुधबार ०४:२१

नवौं राष्ट्रिय खेलकुद अन्र्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपिएफले पहिलो जित निकालेका छन्। पोखरामा भएको खेलमा एपिएफले बागमतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो।

पोखराको क्रिकेट रंगशालामा भएको दिनको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो। बागमतीका लागि कप्तान अश्मिना कर्माचार्यले नटआउट १९ रनको योगदान गरिन्। त्यस्तै सुमन खतिवडाले १९ रन बनाउँदा बागमतीका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

बागमतीलाई सस्तैमा समेट्न एपीएफकी रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान एक एक विकेट लिँदा अन्य चार खेलाडी रन आउट भएका थिए। ९० रनको सामान्य लक्ष्य पछयाएको एपिएफले चार बल बाँकी छँदै लक्ष्य पुरा गरेको थियो। एपिएफलाई जित दिलाउन रोमा थापाले सर्वाधिक २२ रनको योगदान दिइन्। त्यस्तै एपिएफकी कप्तान सीता रानामगरले १६, ममता चौधरीले १७ , इन्दु बर्माले ५ रन बनाउँदा ओपनर ज्योति पाण्डे एक रनमै पविलियन फर्किएकी थिइन्। एपिएफकी नेरी थापा १६ तथा राजमती ऐरी चार रनमा अविजित रहे। बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले दुई दुई विकेट लिँदा अस्मिनाले एक विकेट लिइन्। खेलको युमन अफ दि म्याच एपिएफकी नेरी थापा भएकी छिन्।

दिनको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ५९ रन बनाएको थियो। गण्डकीका लागि कप्तान श्रृष्टि जैशीले सर्वधिक अविजित २८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र साबित्री धामीले एक एक विकेट लिए। ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले ५८ बल बाँकी छँदै चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। सुदूरका लागि ऋतु कनौजियाले सर्वाधिक २२ रन बनाउँदा स्नेहा महरा २१ रनमा अविजित रहिन्। गण्डकीकी शिला क्षेत्रीले दुई तथा श्रृष्टि जैशीले एक विकेट लिइन्। खेलको युमन अफ दि म्याच सुदूरपश्चिमकी ऋतु कनोजिया भएकी हुन्। सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग आठ विकेटले पराजित भएको थियो।

पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण

एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङ्ग अन्तरगतको सावर विधामा एपिएफका लागि स्वर्ण जितेका छन्। उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन्। एपिएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे।

इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे। ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन्। ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्। तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे।

फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भईन्। उनले एपिएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन्। एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए।

नवौं राष्ट्रिय प्रतियोगितामा फेन्सिङ्गमा ६ स्वर्णका छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ। पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो।