८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युकेका सचिब फडिन्द्र भट्टराई कवितामा उत्कृष्ट

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७३, सोमबार ०९:५९

बेलायतमा भानुजयन्तीका अवसरमा आयोजित खुला नेपाली कविता प्रतियोगितामा पत्रकार एवं एनआरएन सचिब फडिन्द्र भट्टराईले प्रथम पुरस्कार हासिल गरेका छन् ।

नेपाली साझा पहिचान बनेका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विश्वको जुन कुनामा रहेर पनि नेपालीहरूले मनाउँदै आएका छन् ।

यसै क्रममा बेलायतको रेडिंगमा पनि एक भव्य कार्यक्रममा बीच खुला कविताप्रतियोगिता आयोजना गर्दै २०३औं भानुजयन्ती मनाइएको हो । रेडिंग नेपाली समाज बेलायत तथा एनआरएन युकेको भाषासहित्य विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगिता बालबालिका र बयस्क गरी दुई भागमा बाँडिएको थियो । भट्टराईले बयस्कतर्फ बाजी मारे भने बालबालिकातर्फ रेडिंगकी आद्या भट्टराई उत्कृष्ट भइन् । उनले नेपाली र अंग्रेजी दुबै भाषामा दर्शकको मन लुट्ने गरी कविता वाचन गरेकी थिइन् ।

वयस्कतर्फ नै मन्जु भण्डारीको कविताले दोस्रो पुरस्कार जित्यो । उनले नारीको अस्मिता र अस्तित्वलाई कविताका सुन्दर शब्दमा दिएको अभिव्यक्तिलाई दर्शक र निर्णायक दुबैले मन पराए । रेडिंगकै प्रखर कवि लक्ष्मी पौडेल तृतीय भइन् । उनका कवितामा दर्शक मन्त्रमुग्ध बनेका थिए ।

बालबालिकातर्फ आद्या भट्टराईपछि आगत खरेलको कविता दोस्रो ठहरियो । निहिता शर्माले तेस्रो स्थान हासिल गरिन् ।

निर्णायक मण्डलको संयोजन गरेका प्रख्यात सञ्चारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीले वाचन गरिएका सबै कविता आफैमा उत्कृष्ट भएको र बालबालिकाहरूले उत्साहजनक ढंगले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए । डा. रूपक श्रेष्ठ र प्राध्यापक सुमाया राईले नेपालीसँगै निर्णायकको भूमिका निभाएका थिए । डायस्पोरिक साहित्यबारे गहन विश्लेषण प्रस्तुत गर्दै रूपक श्रेष्ठले सुनाएको डायस्पोरिक कविताले सबैको मन लुट्यो ।

कार्यक्रमको संयोजन रेडिंग नेपाली समाजका महासचिब ओम अधिकारीले गरेका थिए भने सभापतित्व संस्थाकै अध्यक्ष मानबहादुर गुरुंगले गरे । उपाध्यक्ष कृष्ण न्यौपानेले उपस्थित सबैलाई एक मन्तव्यमार्फत स्वागत गरेका थिए ।