१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनारद्धारा राजीनामा

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७९, आईतवार २१:४९


कुल आचार्यले एनआरएनए छताछुल्ल भताभुगं पारे

लन्डन। गैरअवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रमुख संरक्षक शेरबहादुर सुनारले आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन्।

आफ्नो अनेकौँ प्रयासका बाबजुद अध्यक्ष प्रेम गाहामगर र कार्यसमितिबीचको विवाद साम्य हुन नसकेको र संस्था फुटको चरणमा पुगेको भन्दै सुनारले प्रमुख संरक्षक पद त्यागको घोषणा गरेका हुन्।

आइतबार अपरान्ह एक वक्तव्य जारी गर्दै सुनारले सन् २००५ देखि संस्थाका रहंदै आएको आफ्नो सबै आबद्धता अन्त्य भएको घोषणा पनि गरेका छन्।

‘अन्तिम समयसम्म पनि मैले अध्यक्षज्यूलगायत सबै कार्यसमितिका साथीहरुलाई मिलेर जानोस् भनी धेरैपटक अनुरोध गरें, तर मेरो अनुरोधलाई सुनिएन । कार्यसमितिका पदाधिकारीदेखि लिएर अध्यक्षसम्मको निस्काशनको निर्णय गरियो तर न त सल्लाहकारहरुलाई सोधियो न त प्रमुख सल्लाहकारहरुलाई सोधियो, न त संरक्षक एवं प्रमुख संरक्षकलाई नै सोधियो’, सुनारले भनेका छन्, ‘ यति धेरै सल्लाहकार र संरक्षक राखेर सोधिंदैन र सल्लाहकार र संरक्षकले भनेको सुनिदैन भने किन राखियोरु एनआरएनका सल्लाहकारज्यूहरु यिनीहरुको कठपुतली भएर नबसियोस्, आँखा खोलियोस् भन्न चाहन्छु ।’

राजीनामा वक्तव्यमा सुनारले एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहामगर र आइसीसी अध्यक्ष कुल आचार्य दुवैको चुनावी कमाण्डरका रुपमा आफू मैदानमा खटिएको स्मरण गरेका छन् ।

तर आफैंले संयोजन गरेको अभियानबाट निर्वाचित हुने पदाधिकारीहरुले पनि संस्थाको एकताका पक्षमा आफूले उठाएको आवाजको सुनुवाई नगरेको उनको गुनासो छ।

‘म एनसिसी बेलायतको प्रेम गाहामगर ज्यूको टिमको मात्रै नभई आइसिसीका अध्यक्ष कुल आचार्यज्यूको पनि प्रमुख संयोजकको भूमिका निभाएँ तर दुर्भाग्य भन्नैपर्छ उहाँको कार्यवधिमा बेलायतको एनआरएनए छताछुल्ल बन्न पुग्यो । यो अत्यन्त पीडादायी क्षणलाई बेलायतवासीले कहिल्यै बिर्सने छैनन् र उनीहरु टुलुटुलु हेरेर बस्दैनन्, अवश्य आँखा खोल्नेछन् भन्ने विश्वास मैले लिएको छु‘ वक्तव्यमा छ।

सन् २०२१ को अगस्टमा सम्पन्न एनआरएनए यूकेको निर्वाचनमा प्रेम गाहा मगर र उनको सिंगो टीमलाई जिताउने अभियानको प्रमुख कमाण्डर थिए सुनार। संस्थाका पूर्व अध्यक्षहरु मात्रैलाई संरक्षक मनोनित गर्ने त्यसअघिको परम्परा तोड्दै गाहामगरले पूर्व उपाध्यक्ष सुनारलाई प्रमुख संरक्षक मनोनित गरेका थिए।

अध्यक्ष गाहामगर र कार्यसमितिका अन्य पदाधिकारीबीचको विवादको क्रममा अन्तिम समयसम्म पनि गाहामगरकै पक्षमा उभिएका सुनारले अन्ततस् राजीनामा गरेका छन्।


सुनारको राजीनामा वक्तव्य