७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए कार्यकारी अध्यक्ष थापा र पोखरा महानगरपालिकाका प्रमुख आचार्यसंग भेटवार्ता

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७९, मंगलवार १८:१५

कास्की । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको नेतृत्व गर्दै पोखरा आउनु भएकी अध्यक्ष थापाले पोखराको विकासमा एनआरएनएको भूमिका र योगदानका विषयमा महानगरका प्रमुख आचार्यसँग भेटवार्ता सहित छलफल गर्नुभएको हो ।

गैर आवासीय नेपालीहरूले मुलुकका विभिन्न स्थानहरूमा भइरहेका विकास निर्माणमा आर्थिक सहायता समेत गरिरहेको सन्दर्भमा पोखरामा पनि महानगरपालिकासँग सहकार्य तथा समन्वय गरेर काम गर्न सङ्घ तत्पर रहेको अध्यक्ष थापाले बताउनुभयो । विश्वमा पर्यटकीय सहरको पहिचान बनाएको पोखरामा महानगरसँग एक साथ काम गर्न पाउनु आफूहरूका लागि सुखद हुने भन्दै एनआरएनए त्यसका लागि सदैव तयार रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले भने पोखरालाई विश्वका हरेक मुलुकहरूमा चिनाउन गैर आवासीय नेपालीहरूको भूमिका अतुलनीय रहेको बताउनुभयो । पोखरालाई अहिले नेपाल सरकार समक्ष पर्यटकीय राजधानी घोषणाका लागि आग्रह गरिएकाले यसको ब्राण्डीङलाई विश्वव्यापी बनाउन एनआरएनएहरू अझ बढी सक्रिय भएर लाग्न उहाँले आग्रह पनि गर्नुभयो ।
संसारभर छरिएर रहेका नेपालीहरूको साझा संस्थाका रूपमा स्थापित एनआरएनएका अध्यक्ष थापा सहित महिला सचिव राधिका गुरुङ र कास्की समाज युएसएका संस्थापक नारायण थापाको सहभागिता रहेको थियो । भेटघाटको संयोजन पोखरा महानगरपालिका वडा नं। ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले गर्नुभएको थियो ।