१५ बैशाख २०८१, शनिबार
Follow Us

नवौं राष्ट्रिय खेलकुद: २३ मेडल सहित एनआरएनए छैटौ स्थानमा, स्विमिङमा दोस्रो

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७९, बुधबार १९:४६

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउँदै लगेको छ । हालसम्म पदकको छिनोफानो हुँदा आर्मीले १२२ स्वर्ण, ७७ रजत र ६२ कास्य पदक सहित कुल २६१ पदक हात पारिसकेको छ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ४६ स्वर्ण, ४३ रजत र ५० कास्यपदक सहित १३९ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले ३७ स्वर्ण, ४४ रजत र ६६ काास्य पदक सहित कुल १४७ पदक हात परेको छ । यसैगरी बागमती प्रदेशले १९ स्वर्ण, ३६ रजत र ४५ कास्य सहित कुल १०० पदक जित्दा गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ४५ कास्य पदक सहित १०० पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले १० स्वर्ण, ७ रजत ६ कास्य सहित २३ पदक, प्रदेश १ ले ५ स्वर्ण २१ रजत र ३५ कास्य सहित ६१ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य पदक सहित ३२ पदक जितेका छन् । त्यसैगरी, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, ३५ कास्य सहित १४ पदक,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १६ रजत र २९ कास्य सहित ४८ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ९ कास्य पदक सहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता अन्र्तगतका खेलहरु जारी रहेका छन् ।

एनआरएनए स्विमिङमा दोस्रो

आर्मीकी १६ वर्षीया स्विमर डुआना लामाले मंगलबार तीन स्वर्ण हात पार्दै नवौं राष्ट्रिय खेलकुद २०७९ मा सर्वाधिक ९ स्वर्ण पदकसहित १० पदक जितेकी छन् ।

फिस्टेल एकेडेमीमा सम्पन्न पौडी प्रतियोगिताको अन्तिम दिन महिला ४ सय मिटर फ्रिस्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक (दुवै व्यक्तिगत स्पर्धा) र मिक्स ४ सय मिटर फ्रिस्टाइल रिले (टिम स्पर्धा) मा स्वर्ण जितेकी हुन् । एलेक्स शाह, गौरिका सिंह र नासिर हुसेन, गौरिकासँगै रिलेमा आर्मीलाई स्वर्ण दिलाएकी हुन् ।

डुआनाले अघिल्ला तीन दिन ६ स्वर्ण र १ रजत हात पारेकी थिइन् । यस क्रममा उनले ५ पटक राष्ट्रिय कीर्तिमान पनि बनाइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण र ६ रजतसहित ११ पदक जितेकी थिइन् ।

कुल ३५ स्पर्धा रहेको पौडीमा आर्मीकै नासिरले ७ स्वर्ण, २ रजत र १ कांस्य गरी १० पदक हात पारे । एनआरएनएकी एस्ली सापकोटा डंगोल ६ स्वर्ण र २ रजत गरी आठ पदक प्राप्त गरिन् । त्यस्तै, ओलम्पियन गौरिका सिंहले ५ स्वर्ण र १ रजत गरी ६ पदक जितिन् । अर्का ओलम्पियन एलेक्सले ५ स्वर्ण, १ रजत र १ कांस्य गरी सात पदक जिते ।

राष्ट्रिय खेलकुदको एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान करिश्मा कार्की र गौरिकाको नाममा रहेको छ । दुवैले १२–१२ स्वर्ण जितेका थिए । उक्त सफला करिश्माले पाँचौं संस्करण (२०६५ साल) मा गौरिकाले आठौं संस्करण (२०७६) मा हात पारेका थिए ।

एनआरएनएले खेलाडीलाई सम्मान गर्ने

गैरआवासीय नेपाली संघले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको तर्फबाट पदक विजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । संघका युवा उपाध्यक्ष रोशन थापाका अनुसार संघले भोलि (विहिवार) बिहान ८.१५ बजे एनआरएनए मुख्यालयमा एक सम्मान कार्यक्रमको आयोजना गर्न लागेको हो ।