८ बैशाख २०८१, शनिबार
Follow Us

नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०७९, बिहीबार ०४:५५

पाेखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ ।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको छ । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ ।

प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ । विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ ।

नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन् । केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ ।