१५ चैत्र २०८०, बिहीबार
Follow Us

डा. कैनीले एकैसाथ निकाले पाँच कृति

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७९, शनिबार २३:४५

काठमाडौं। बेलायतबाट केही वर्षअघि मात्रै नेपाल फर्किएका बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृतिहरु एकैसाथ सार्वजनिक भएका छन्।

कैनीकृत निबन्ध संग्रह अदृष्‍य मनका शादृष्‍यहरु, कविता संग्रह सीमाहिन सीमाहरु, कथा संग्रह भिसागर्ल, कविता संग्रह रङको पहिचान र गजल संग्रह प्रतिबिम्ब शनिवार प्रज्ञा भवनमा एक कार्यक्रमबीच एकसाथ लोकार्पण गरियो।

प्रा. डा. अभि सुवेदी, सर्जक डा. बच्चुकैलाश कैनी, पुर्व मन्त्री अमरराज कैनी, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ, समालोचक प्रतिक ढकाल, प्रा. खेमनारायण पौडेल, शिवप्रकाश, साहित्यकार रमेश पौडेल एवम् कार्यक्रमकी सभापति साहित्यकर प्रभा कैनीले संयुक्त रुपमा कृतिहरु लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदीले एकै साथ ५ वटा कृतिहरु प्रकाशनमा ल्याउन सक्नु कृतिकारको गहन उपलब्धी रहेको बताउँदै उक्त कृतिहरुमा जीवनको विशाल क्यान्भासलाई छोटकरीमा लेख्ने शिल्प कलालाई कृतिकारले उजागर गरेको उल्लेख गरे।

सो अवसरमा कृतिकार कैनीले आफनो मुख्य रुचिको विधा कविता भएको बताउनु हुँदै विगतमा ४० को दशकताका आफना सिर्जनाहरु प्रकाशन गर्ने अभिलाषासहित गोरखापत्रको कार्यालय धाउने गरेको स्मरण ताजै रहेको सुनाए। साथै उनले कार्य व्यस्तताबाट हुने मानसिक थकानलाई मेटाउन आफू निरन्तर साहित्य साधनामा तल्लिन रहदै आएको उपज उक्त कृतिहरु पाठक माझ पस्कन सफल भएको बताए।

कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री अमरराज कैनीले डा. बच्चु कैलाश कैनी अभाव एवम् विभिन्न प्रतिकुलतासँग जुध्दै मेधावी क्षमता, संघर्ष र अथक मेहनत तथा परिश्रमबाट माथि उठेको व्यक्ति भएको बताउनु हुँदै अस्पताल व्यवस्थापनसँगै कृतिकारले साहित्यको क्षेत्रमा पनि आफनो अब्बल क्षमता प्रस्तुत गर्दै आफुलाई बहु प्रतिभाशालीका रुपमा प्रमाणित गर्न सफल समेत रहेको उल्लेख गरे।

सो अवसरमा चिकित्सकद्व्य वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइराला र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सुदिप श्रेष्ठले डा. कैनीले विगतमा ह्रदय रोग अस्पताल र हाल नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेण्टरमा कार्यरत रहंदा कैनीले अस्पताल व्यवस्थापनको क्षेत्रमा प्रस्तुत गर्दै आएएको क्षमताको तारिफ गर्दै साहित्य सिर्जनाको क्षेत्रमा पनि उस्तै प्रशंसनिय कार्यहरु गर्न सफल रहेको आशय व्यक्त गरे।

त्यसैगरि, समालोचक एवम् साहित्यकारत्रय प्रतिक ढकाल, प्रा. खेमनारायण पौडेल र शिवप्रकाशले कैनीका कृतिहरुको बारेमा समिक्षा गर्दै उक्त कृतिहरु पढदा सर्जकका मनका कुरा, जीवनवादी मुल्य, सकारात्मक सोच, राजनीतिक सन्दर्भ, समसामयिकताको आत्मसात गर्न सकिने बताए।

पेशाभन्दा फरकधारको अक्षरको दुनियाँमा समर्पित भएर लाग्न सक्नु नै कैनीको जित भएको महशुस गर्न सकिने धारणा उनीहरुले राखे।

त्यसैगरि, कृतिको प्रकाशक संस्था आवरण प्रकाशनका प्रमुख तथा साहित्यकार रमेश पौडेलले डा. कैनी आफनो बालसखा समेत रहेको स्मरण गर्दै उनको लेखन कला एवम् इच्छा शक्तिको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रमकी सभापति साहित्यकार प्रभा कैनीले बच्चुकैलाश लगनशिलता, मेहनत र परिश्रमका पर्याय रहेको बताउनुहुँदै त्यसैको बलमा प्रगतिको शिखर चुम्न सफल बहुआयामिक व्यक्तित्व रहेको उल्लेख गरिन्।