१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायती प्रधानमन्त्रीको दौडमा सुनक र मोर्डन्टको दाबी

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७९, आईतवार १८:१२

लण्डन । बेलायती प्रधानमन्त्रीको दौडमा पूर्वअर्थमन्त्री ऋषि सुनक र वर्तमान सरकारमै रहेकी मन्त्री पेन्नी मोर्डन्ट औपचारिकरुपमा उत्रिएका छन् । मोर्डन्टले दुई दिनअघि नै औपचारिक अभियान सुरु गरिसकेकी छिन् भने हालसम्म धेरै सांसदहरुको समर्थन पाएका पूर्व्अर्थमन्त्री सुनकले पनि आइतबार औपचारिकरुपमा भावी प्रधानमन्त्रीको आकांक्षा व्यक्त गरेका छन् ।

भावी प्रधानमन्त्रीको दौडमा सामेल हुन बिदा छोट्याएर बेलायत फर्किएका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले भने हालसम्म औपचारिकरुपमा मुख खोलेका छैनन् । तथापि उनका समर्थकहरुले भने जोन्सन पनि भावी प्रधानमन्त्रीको दौडमा रहेको बताइरहेका छन् ।

कन्जरभेटिभ पार्टीको १९२२ समितिले नयाँ नेता चयन गर्ने गर्छ र नयाँ नेताका लागि उम्मेदवारी मनोनयन गर्न कम्तीमा १०० सांसदको समर्थन चाहिन्छ । सुनकका पक्षमा हालसम्म १३६ सांसदले सार्वजनिक समर्थन गरिसकेका छन् भने जोन्सनका पक्षमा ५६ र मोर्डन्टको पक्षमा २३ सांसदले हालसम्म समर्थन व्यक्त गरेका छन् ।

३५७ सांसद रहेको कन्जरभेटिभ पार्टीभित्र अझै धेरै सांसदहरुले कसलाई समर्थन गर्ने मुख खोलेका छैनन् तर सुनकले सार्वजनिकरुपमा वर्तमान समस्या समाधान गर्न र पार्टीलाई एकजुट बनाउन आफू नेताको उम्मेदवार हुने बताएपछि उनको पक्षमा थप सांसदहरुले समर्थन जनाउने आशा गरिएको छ ।

उता सुनक र जोन्सनबीच शनिबार भेट भएको समाचार पनि बाहिर आएको छ तर सो भेटमा केही सहमति नभएको बताइएको छ । सो भेटमा केही सहमति बनिहाल्ने हो कि भनेर पनि केही सांसदहरुले आफ्नो रोजाइ प्रस्ट पारेका छैनन् ।

प्रधानमन्त्री रहेकी कञ्जरभेटिभ पार्टीका नेता लिज ट्रसले शुक्रबार राजीनामा दिएपछि नयाँ नेताका लागि सोमबार मनोनयनको कार्यतालिका राखिएको छ । भोलि दिउँसो २ बजेसम्ममा कस-कसले मनोनयन गर्न सक्छन् त्यसबाट आगामी प्रधानमन्त्रीको अड्कल काट्न सजिलो हुनेछ ।

बेलायतले आउँदो अक्टोबर २८ सम्म अर्को प्रधानमन्त्री पाउने छ । बेलायती प्रधानमन्त्री ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताका रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ मा हुनेछ ।