७ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनावी माहोल तयार गर्दै डा. पाठक, बागलुङको विकासबारे प्रवासी नेपालीसँग छलफल

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७९, सोमबार ०१:४४

बागलुङ । प्रतिनिधिसभामा बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार डा सूर्य पाठक आफ्नो पक्षमा चुनावी माहोल तयार गर्न व्यस्त छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग प्रतिस्पर्धामा रहेका पाठक विकास र समृद्धिको एजेण्डासहित चुनावी मैदानमा होमिएका हुन् ।
पाठकले जिल्लामा घरदैलोदेखि छलफल र अन्तरक्रिया गर्दै आएका छन् भने प्रवासी नेपालीसँग समेत अन्तरक्रियामा सहभागी भएर आफ्नो पक्षमा सकारात्मक माहोल तयार गरेका छन् ।

आइतवार एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै डा पाठकले पहिलो पटक सांसद भएपछि बाग्लुङको सडक, खानेपानी, सिंचाई र स्वास्थ्यचौकी भवन निमार्णमा प्राथामिकता दिएको बताए । उनले विकासको पूर्वाधारको लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको बताए ।

यद्यपि केही कामहरु पूरा गर्न नसकिएको भन्दै पाठकले दोस्रो पटक निर्वाचित भएर ती अधुरा कार्य पूरा गर्ने बताए । डा पाठकले मध्यपहाडी राजमार्गको फोटो राखेर गिज्याउन खोज्नेहरुप्रति इंगित गर्दै भने, ‘ मैले मध्य पहाडी लोकमार्गको पिच समयसीमाभित्र सक्नु पर्छ भनेर पटक पटक संसदमा बालेको छु । जिल्लामा सिडियोलगायत सरोकारहरुसँग पटक पटक वार्ता गरेको छु । तर प्रोजेक्ट म्यानेजर र ठेक्दारको मिलोमोतोका कारणले सो राजमार्ग अल्पत्र पार्ने काम भयो ।’

पाठकले लापरवाही गर्ने ठकेदारमाथि कारवाही गर्न प्रयास गरिए पनि कानूनबाधक भएको जिकीर गरे । उनले भने, ‘ठेक्का नै रद्द गरेर नयाँ ठेक्का दिएर सडक पिच गर्नका लागि सिफारिस गरिएको थियो । तर कानूनले प्रोजेक्ट म्यानेजरको सिफारिस बिना उक्त ठेक्का रद्द गर्न नमिल्ने भएका कारणले हामीले ठेकेदार कम्पनीलाई कारवाही गर्न सकेनौं, अव राज्य भन्दा पनि ठेकेदारहरु बलिया भएका हुन् कि भन्ने प्रश्न उठेको छ ।’
उनले आफूसँग निर्वाचन क्षेत्रमा प्रत्यासी रहेका ८० वर्षिया चित्र बहादुर केसी दुई पटक सांसद र उपप्रधानमन्त्री हुँदा जिल्लाको विकासमा के कस्तो काम गर्नुभयो भनेर प्रश्न गर्न समेत मतदातालाई आग्रह गरे ।

पाठकले प्रतिनिधि सभाको सदस्यका रुपमा आफूले कानून निमार्णमा केन्द्रीत हुनुपर्ने भएका कारणलेसंसदलाई केन्द्रबिन्दु बनाए विगत ५ वर्ष सक्रिय भूमिका खेलेको बताए।

उनले गैरआवासीय नेपालीहरुका हक र अधिकारहरुका नागरिकताको निरन्तरता, मताधिकार, पिएनओ लगायतका मुद्दा संसदमा बुलन्द पारेको स्मरण गरे । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याइनुपर्ने पनि उनको भनाइ थियो ।

कार्यक्रममा प्रवासी नेपाली अन्तर्राष्ट्रिय मन्चका अध्यक्ष भक्त गुरुङले आगामी संसदमा नवयुवाको उपस्थित आवश्यक रहेको बताए । उनले बाग्लुङ जिल्ला रमणीय उर्जावाज जिल्ला भएको बताउँदै बाग्लुङका उत्पादनलाई अन्तराष्ट्रिय बजारमा लैजान सकिनेतर्फ नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेम राज शर्मा, उपमहासचिव रामशरण सिमखडा, एनआरएनए अभियन्ता एकराज गिरी, एनआरएनए यूकेका उपाध्यक्ष नारायण कंडेल लगायतले शुभकामना दिएका थिए ।