४ बैशाख २०८१, मंगलवार
Follow Us

भारतीय मूलका ४२ वर्षका ऋषि सुनक बेलायती प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७९, मंगलवार ००:४१

लण्डन् । बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्।

४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् । उनलाई मंगलवार दिउसो बेलायती राजा चाल्र्सले प्रधानमन्त्रीमा नियुक्ती गर्ने छन् ।

सन् १९८० मा जन्मिएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्।

ऋषिका हजुरबुबा हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए। उनी हिन्दु हुन् ।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्।


अर्बपति ससुराली, भारतीय श्रीमति

भारतसँग ऋषिको पुख्र्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गरेका छन्। अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उनी विवादमा परेकी थिइन्।

चुनौती
प्रधानमन्त्रीका रूपमा ऋषिले संकटोन्मुख बेलायती अर्थतन्त्रलाई सही दिशामा ल्याउनु पर्ने मुख्य चुनौती रहेको छ । बढ्दो इन्धन संकट, बैंकको व्याज दर र कर सम्बन्धी नीति, स्वास्थ्य, युक्रेन रुस युद्ध लगायतका क्षेत्रमा ऋषिले कस्तो नीति लिन्छन् भन्ने चासो अहिले बेलायतमा सर्वत्र चुलिएको छ । उनले दलको नेता चयन भए पछि देशमा गहिरो आर्थिक चुनौती रहेको बताउदै राष्ट्रिय एकताको लागि आब्हान गरेका छन् ।

सुनाकले बेलायतको पहिलो एशियाली प्रधानमन्त्री र २०० वर्ष पछि पहिलो कान्छो प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गर्ने छन् ।