८ बैशाख २०८१, शनिबार
Follow Us

पुरस्कारसहित साहित्य विकास परिषद यूकेले मनायो देवकोटा जयन्ती

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७९, मंगलवार ०१:४३

लण्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेद्वारा ११३ औँ महाकवि देवकोटा जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाइयो ।

वेस्ट लन्डनको एक्टनस्थित एबिआइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार पदक शुसोभन गर्दै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली साहित्यलाई विश्व स्तरमा फैलाउन महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान गहन रहेको चर्चा गरे । उनले नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेको चर्चा पनि गरे ।

आफ्ना सिर्जनाद्वारा समाजलाई परिवर्तनतर्फ उन्मुख गराउने सर्जकहरूलाई नइ रजतमहोत्सव पदक र परिषद्को रजतमहोत्सव पुरस्कारहरूद्वारा सम्मान गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत आचार्यले वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाको ‘थेम्स नदीका नागवेलीहरू’ कवितासङ्ग्रह र पद्मीनी उपन्यासभित्र समेटिएका विषयवस्तुले साहित्यको समृद्धि र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास व्यक्त गरे ।

समारोहमा परिषद्को रजत महोत्सव विशिष्ट साहित्य सम्मान पुरस्कार तथा पदक अभिनन्दन ग्रहण गर्दै परिषद्का प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीइ’ ले परिषदले बेलायती माटोमा नेपाली पहिचान फलाउने फुलाउने सराहनीय काम गरेको बताए ।

सिर्जना गर्न प्रेरणा जगाउनु र मुल्याङ्कन गरेर पुरस्कार सम्मानले प्रोत्साहित गर्नु परिषदका महत्वपूर्ण कार्य भएको चर्चा गर्दै उनले नेपालबाट नइ संस्थाले समेत बेलायतका सर्जकहरूलाई पुरस्कृत गरेर सराहनीय कार्य गरेको बताए ।

अर्का वक्ता यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष तथा परिषद्का वरिष्ठ सह अध्यक्ष कवि ध्रुव केसीले सम्मानित साहित्यकारहरूले नेपाली भाषा साहित्यको समृद्धिमा महत्वपूर्ण योगदान गरेको बताए ।

समारोहमा महाकवि देवकोटा र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कवि सुरेशजङ्ग शाहले नेपाली साहित्य र संस्कृतिको समृद्धिमा देवकोटा र शताब्दी पुरुष जोशीको योगदान अतुलनीय र प्रेरणामूलक रहेको बताए ।

संस्थापक शाहले नइ प्रकाशनले विश्वव्यापीरूपमा सर्जकहरूको मूल्याङ्कन र सम्मान गरेर नेपाली भाषा साहित्यमा योगदान र प्रोत्साहन पुरयाइरहेको चर्चा गरे ।

परिषदले नपाली साहित्यको समृद्धिका लागि नइसँग विभिन्न अवसरहरूमा सहकार्य गर्दै आइरहेको पनि उनले बताए ।

शाहले विमोचित पुस्तकहरूबारे समिक्षा गर्दै लेखक हरिसिंह थापाले थेम्स नदीका नागवेलीहरू कविता सङ्ग्रहमा नेपाल र बेलायत दुई देशको सामाजिक सभ्यता र भौतिक विकासबारे तुलानात्मक प्रस्तुति दिएको बताए । पद्मीनी उपन्यासमा अल्पज्ञान र रुढीवादी मानयिकतालाई छिचोल्दै सन्तति र पर्यावरणको महत्व बुझाउने प्रयत्न बढो कलात्मशैलीबाट भएको उनले जनाए ।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लले महाकवि देवकोटा र शताब्दी पुरुष सत्यमोहन जोसीको योगदान र महत्व नेपाली इतिहासमा सँधै चम्किरहने बताए । अध्यक्ष मल्लले विमोचित पुस्तकका लेखक र नइ पुरस्कारबाट पुरस्कृत हुने सर्जकहरूमा वधाई दिंदै नेपाली साहित्यको क्षेत्रमा नइ प्रकाशनको योगदानबारे उल्लेख गरे।

समारोहमा पूर्व अध्यक्ष तथा विमोचित पुस्तकहरूका लेखक वरिष्ठ साहित्यकार हरिसिंह थापाले आफ्ना कृतिहरू परिषद्ले प्रकाशन गरेकोमा आभारी रहेको बताउंदै कृतिहरूले देशको विकास र समाजको सोच परिवर्तनको चेतना जगाउने प्रयास गरेको चर्चा गरे ।

नेपाली भाषा साहित्यको विकासमा अग्रणी भूमिका निर्वाह गरिरहेको नइ प्रकाशनले देशविदेशका सर्जकहरूको मूल्याङकन गरेर थप प्रोत्साहन पुराइरहेको चर्चा पनि उनले गरे ।

अर्का वक्ता परिषद्का पूर्व अध्यक्ष तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार कवि खगेन्द्र नेपालीले महाकवि देवकोटाका सिर्जनाहरू विश्वमा गनिएका कविहरूको दाँजोमा रत्तिभर कमी नभएकाले महाकविलाई विश्व कविको रूपमा पहिचान अगाडि बढाउनुपर्ने बताए ।

उनले यसको सुरुवात आफू नेपाली साहित्य विकास परिषद् यूकेको अध्यक्ष हुँदा सन् २०१० तिरै कार्यशाला गोष्ठी गरी अन्तराष्ट्रिय साहित्य समाज बेलायत शाखाको सहभागिता समेत गराइ अभियान अगाडि बढाइएको स्मरण गरे ।

यसअघि कार्यक्रम सञ्चालन गर्दै परिषद्की सह-महासचिव साहित्यकार डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ ले साहित्य, सङ्गीत, पुरस्कार सम्मान, पुस्तक विमोचन र कविता वाचन समेतको संयोजन गरेर महाकवि र शताब्दी पुरुषप्रति सम्झना र सम्मान प्रकट गर्न कार्यक्रम गरिएको जनाइन् ।

नयाँ सर्जकहरूको खोजी र प्रकाशमा ल्याउने कार्य परिषदले गर्दै आएको बताउंदै स्वेच्छाले विमोचित पुस्तकका लेखक र पुरस्कारबाट सम्मानित सबै सर्जकमा परिषद्को तर्फबाट वधाई दिइन् ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा माल्यापर्ण र राष्ट्रिय गानबाट सुरू भएको समारोहमा आरम्भ अघि वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सम्झनामा एक मिनेट मौन धारण गरी सम्मान प्रकट गरिएको थियो ।

उक्त अवसरमा बुक हिल पब्लिकेसनको प्रकानद्वारा प्रकाशित गिरिस गिरीद्वारा लेखित डा. सत्यमोहन जोशी नामक पुस्तक बारे प्रकाश पार्दै सत्यमोहन जोशीको योगदानको चर्चा गरिएको थियो ।

समारोहका प्रमुख अतिथि राजदूत आचार्यले वरिष्ठ साहित्यकार हरिसिंह थापाद्वारा लिखित दुई पुस्तक पद्मीनी उपन्यास र थेम्स नदीका नागवेलीहरू कवितासङ्ग्रह विमोचन गरेका थिए । उक्त अवसरमा परिषद्का कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले सारङ्गी बजाएर मंगल धुन प्रस्तुत गरे ।

यसैगरी राजदूत आचार्यले साढे दुई दशक भन्दा बढी समयदेखि बेलायतमा नेपाली साहित्यको समृद्धिमा निरन्तर योगदान पुरयाउँदै आएका परिषद्का संस्थापनकाल देखिका सहयोगी, आजीवन सदस्य तथा बौद्धिक व्यक्तित्वद्वय प्रमुख सल्लाहकार र यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी डा. राघवप्रसाद धिताल ओबीइ र परिषद्की वरिष्ठ सदस्य डा. जनककुमारी धिताललाई परिषद्को रजत महोत्सव विशिष्ट साहित्य सम्मान अभिनन्दन पुरस्कार र पदकद्वारा शुसोभन गराएका थिए ।

समारोहमा राजदूत आचार्यले नेपालबाट नइ प्रकाशनको रजत महोत्सवका अवसरमा बेलायतका सर्जकहरू कृष्ण बजगाँई, विजय हितान, घनबहादुर थापा मगर, सन्जु बजगाँई, वसन्त रायक्षेत्री, कोमल प्रसाद श्रेष्ठ मल्ल र सुरेशजङ्ग शाहलाई नइ रजत महोत्सव पदक तथा प्रमाण-पत्र प्रदान गरे ।

समारोहको दोस्रो चरणमा वसन्त रायक्षेत्री, मदन थापा, हरिसिंह थापा, घनबहादुर थापा मगर, डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’, विजय हितान, कोमलप्रसाद श्रेष्ठ मल्ल, कृष्ण बजगाँई र सुरेशजङग शाहले कविता वाचन गरेका थिए भने वासुदेव साप्कोटा, हिन्दमैञा वैद्य र गोपाल पौडेलले वाचनका लागि कविता पठाएका थिए ।

परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लको सभापतित्वमा कार्यक्रम भएको हो । परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती अध्यक्ष ध्रुव केसीले स्वागत मन्तव्य दिए । परषद्की सहमहासचिव सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ ले कार्यक्रम संचालन गरेकी थिइन् ।

समारोहमा कोसेली नेपाली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष परिषद्का सल्लाहकार तथा कलाकार मदन थापा, मगर संघ यूकेका संरक्षक तथा परिषद्का सल्लाहकार घनबहादुर थापा मगर, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख सुमन खरेल, समकालीन साहित्य यूकेका अध्यक्ष साहित्यकार कृष्ण बजगाँई, विश्व नेपाली साहित्य महासंघका केन्द्रीय उपाध्यक्ष विजय हितान, गायिका सितु खरेल, नेपाली राजदूतावासका द्वितीय सचिव रामबाबु नेपाल लगायत व्यक्तित्वहरूको सहभागिता थियो ।

समारोह सफल बनाउन आर्थिक तथा भौतिक सहयोग प्रायोजन गर्ने संस्थाका वरिष्ठ व्यक्तित्व डा. राघवप्रसाद धिताल, डा. जनककुमारी धिताल, ध्रुव केसी, हरिसिंह थापा, देवकुमारी थापा, घनबहादुर थापा मगर, सितु खरेल, ज्ञानेन्द्र राउत, मनोज अन्जान,कोहिनूर मल्ल, हल प्रायोजक एबीआई कलेजका प्रोप्राइटर तथा परिषद्का सल्लाहकार कृष्ण भट्ट र सारङ्गीमा मङ्गल धुन प्रस्तुत गर्ने परिषद्का कोषाध्यक्ष मनोज अन्जान लगातका सहभागी सम्पूर्ण अतिथि तथा कविहरूमा परिषद्का अध्यक्ष मल्ल र सहमहासचिवले धन्यवाद दिएका थिए ।