१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इमिरे एस्टन भिल्लामा

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७९, मंगलवार ०४:४८

लन्डन । इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लाले युनेइ इमिरेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । इमिरेले नोभेम्बर एकबाट टोलीको प्रशिक्षण सम्हाल्ने भिल्लाले जनाएको छ । एस्टन भिल्लाले केही दिन अघि मात्र प्रशिक्षक स्टेभिन जरार्डलाई बर्खास्त गरेको थियो । एस्टन भिल्लाले नोभम्बर ६ मा म्यानचेस्टर युनाइटेडलाई आतिथ्यता गर्दैछ ।

सो खेल इमिरेका लागि एस्टन भिल्लाको प्रशिक्षकको रुपमा पहिलो खेल हुनेछ । इमिरेले यसअघि सन् २०१८ देखी २०१९ सम्म आर्सनलको प्रशिक्षण सम्हालेका थिए ।

उनको प्रशिक्षणमा आर्सनलले प्रिमियर लिगको पाँचौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो । युरोपा लिगको फाइनल सम्मको यात्रा तय गरेको थियो । फाइनलमा भने उनको टोली चेल्सीसँग पराजित भएको थियो ।

आर्सनल छोडेपछि सन् २०२० मा इमिरेले स्पेनिस ला लिगाको क्लब भियारियालको प्रशिक्षण सम्हालेका थिए । इमिरेको प्रशिक्षणमा भियारियालले युरोपा लिग जितेको थियो । त्यस्तै, गत सिजन भियारियालले उनकै प्रशिक्षणमा च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।