६ बैशाख २०८१, बिहीबार
Follow Us

अभिनेत्री जीयासँग विवाह गर्दैछन् भुवन केसी ?

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७९, बुधबार ०७:१४

काठमाडौं । अभिनेता भुवन केसीले अभिनेत्री जीया केसीसँगकाे सम्बन्धलाई निर्णायक मोड दिने बताएका छन् । अभिनेता भुवन ७/८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा बसेर सम्बन्ध अगाडि बढाएका छन् ।

उनले अब भने जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै जीयाको नाम नै नलिई घुमाउराे शैलीमा छिट्टै विवाह गर्ने बताएका हुन् । यतिबेला जीयाको साथमा अमेरिकामा रहेका भुवनले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।

अन्तर्वार्ताकाे क्रममा उनले भने, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । जीयाले मलाई साथ दिएकी छन् । उनले मेरो परिवारलाई सहयोग गरेकी छन् र मेरो परिवारले पनि उनलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु। परिवार सकारात्मक छन् र चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।

यसअघि अभिनेता भुवनकाे दुई विवाह भएर सम्बन्धविच्छेद भइसकेकाे छ । आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०-२५ वर्ष भइसकेको छ । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरे पनि दोस्रोसँग बोलचाल हुँदैन ।