६ बैशाख २०८१, बिहीबार
Follow Us

चेल्सी र लिभरपुल स्तब्ध

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७९, आईतवार ०४:५१

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी भए भने चेल्सी र लिभरपुल स्तब्ध हुन पुगे । तालिकाको शीर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३–२ ले तथा न्युकासल युनाइटेडले एस्टन भिल्लालाई ४–० ले हराएका छन् ।

एनफिल्डमा भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो । लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे । १४औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए । तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को अप्रत्यासित जित निकाले ।

जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी राखेको लिभरपुल १६ अंक जोडेर १६औं स्थानमा छ ।

यता, अर्काे खेलमा चेल्सी ब्राइटनसँग ४–१ अन्तरले स्तब्ध भयो । घरेलु मैदानमा ब्राइटन बलियो चेल्सीविरुद्ध पूरा समय हाबी भएको थियो ।

खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । १४औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्सले आत्मघाती गोल गरे । ४२औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गर्दा पहिलो हाफमै ब्राइटन ३–० ले अघि रह्यो ।

४८औं मिनेटमा काइ हार्भट्जले गोल गर्दा चेल्सीले अग्रता ३–१ को स्थितिमा झारे । तर, इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को प्रभावशाली जित दिलाए । हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।