१२ बैशाख २०८१, बुधबार
Follow Us

टोटनहम र फ्रयांकफर्ट अन्तिम १६ मा

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७९, बुधबार ०६:१८

लन्डन । युईएफए च्याम्पियन्स लि अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी हुँदै टोटनहम र फ्रयांकफर्ट समूह डी बाट अन्तिम १६ मा प्रवेश गरेका छन् । क्लेमन्ट लेङलेट र पिइरी इमाइल होजबर्गको समान एक एक गोल मद्दतमा टोटनहमले मार्सेलीलाई २-१ ले निराश पार्याे । फ्रेन्च लिग वान क्लबविरुद्ध अंक बाँडेमा मात्र पनि टोटनहमलाई नकआउट चरणमा प्रवेश गर्न सफल हुने थियो ।

टोटनहमले सन् २०१९–२० पछि च्याम्पियन्स लिगको समूह चरण पार गरेको पहिलो पटक हो । यस्तै, फ्रयांकफर्टले अन्तिम १६ को टिकट काट्ने क्रममा स्पोर्टिङ लिस्बनलाई २-१ ले हरायो ।

६ खेलमा ११ अंक जोडेको टोटनहम समूह डी को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा फ्रयांकफर्ट १० अंकसहित समूह उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्यो । तेस्रो स्थानको स्पोर्टिङ लिस्बनको सात अंक रह्यो भने चौथो स्थानको मार्सेलीको ६ अंक रह्यो । दुबै क्लब समूह चरणबाट माथि बढ्न सकेनन् ।

बायर्नको अपराजित यात्रा कायम
बुन्डेसलिगा क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । समूह सीअन्तर्गत अन्तिम खेलमा बायर्नले इन्टर मिलानलाई मंगलबार राति २–० अन्तरले पराजित गर्‍यो । घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभार्ड र एरिक मोटिङले समान एक एक गोल गरे ।

जितसँगै समूह सी मा बायर्न अपराजित रहँदा ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित इन्टर समान खेलबाट १० अंक सहित दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट ७ अंक जोडेका बार्सिलोना र बिना अंकको भिक्टोरिया पुछारमा रहँदै समूह चरणबाट माथि बढ्न सकेनन् ।

लिभरपुल समूह उपविजेता
साविक उपविजेता लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलको समूह ए उपविजेता बन्दै शीर्ष १६ मा स्थान बनाएको छ । मंगलबार राति नापोलीलाई २–० ले पराजित गर्दै लिभरपुल प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । पराजित नापोली शीर्षस्थानमा रह्यो ।

राति नै भएको खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले पराजित गर्याे । यस खेलसँगै समूह ए बाट समान अंक भएपनि नापोली ६ खेलबाट १५ अंक सहित शीर्षस्थानमा रह्यो । समान अंकको लिभरपुल दोस्रो स्थानमा रह्यो । ६ अंक जोडेको आयाक्स र विना अंकको रेन्जर्स समूह चरणबाट माथि बढ्न सकेनन् ।

समूह चरणको अन्तिम खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । सलाहले ८५औं मिनेटमा अग्रता दिलाएका थिए । नुनेजले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए ।