६ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपुल र आर्सनललाई सफलता

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७९, सोमबार ०६:१५

लन्डन । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १-० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १-० को अवे जित हासिल गर्‍यो ।

जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ । जारी सिजनमा लय गुमाएको चेल्सी भने २१ अंकमा सीमित हुँदै सातौं स्थानमा झरेको छ ।

लिभरपुलले टोटनहमलाई हरायो
टोटनहममाथि २-१ को जितसहित लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष चारको आठौं स्थानमा उक्लिएको छ । जारी सिजन लिगमा खराब प्रदर्शन गरेको लिभरपुल आइतबार भने उत्कृष्ट लयमा देखियो । ११औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ४०औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

७०औं मिनेटमा कप्तान ह्यारी केनको गोलमा टोटनहमले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । लिभरपुल १३ खेलमा १९ अंकसहित आठौं स्थानमा छ । जुन चौथो स्थानको टोटनहमभन्दा ७ अंक कम हो । आइतबार नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि ३-१ को सहज जित निकालेको छ ।

नेयमारको गोलमा पिएसजी विजयी
स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २-१ अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १-१ को बराबरी गर्‍यो ।

८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ ।