१३ बैशाख २०८१, बिहीबार
Follow Us

विकास र समृद्धिको लागि कस्तो उम्मेदवारले जित्नु पर्छ ?

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७९, शुक्रबार १३:५८

लण्डन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रवासी नेपालीलाई पनि चुनावी माहोलले छोएको छ। विदेशका विकास र समृद्धि बुझेका उनीहरु निर्वाचनबाट युवा उम्मेदवारलाई जिताउन सकिए केही भएपनि देश विकासमा सहयोग हुन्छ कि भन्ने धारणा राख्छन् ।

निर्वाचनमा उल्लेख्य युवा उम्मेदवार रहेका त्यसमा पनि विषयविज्ञहरु समेत समेटिएकाले उनीहरुलाई जिताएर नीति निर्माण तहमा पुर्याउनु पर्ने उनीहरुको धारणा छ ।

चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा डा विश्व पौडेललाई उठाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहिसकेका पौडेलको पक्षमा एनआरएनएका पूर्वअधयक्ष तथा सफल व्यवसायी जीवा लामिछाने खुलेका छन् ।

चितवनकै टॉडी हाईस्कूलको एलुम्नाई सदस्य समेत रहेका लामिछानेले युवा अर्थविद् पौडेलको प्राज्ञिक सफलतालाई लोभदाग्दो सफलता भन्दै आफ्नो सद्भाव र शुभेच्छा रहेको बताए ।

टॉडी हाइस्कूलदेखि युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेसम्मको एकेडेमिक यात्रामा सफलता हाँसिल गरेका पौडेलले प्राप्त गरेको ज्ञान र सीपको उपयोग गरेर राजनीतिमा योगदान दिनसक्ने लामिछानेको धारणा छ । लामिछानेको विचारमा अवको राजनीतिक भविष्य समेत युवाहरुकै हातमा रहेको छ ।

यसैगरी बेलायतस्थित लिभरपुल विश्वविद्यालयका सिनियस लेक्चर डा हेमराज शर्मा अब राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने धारणा राख्छन् । धेरै लामो समय राजनीतिक छलफलमै समय सकिएकाले अब आर्थिक विकासको दिशामा देशअघि बढ्नुपर्ने डा शर्माको भनाइ छ । पुरानो पुस्ताले राजनीतिक परिवर्तन गरेपनि आर्थिक समृद्धि ल्याउन नसकेको तर्क गर्दै शर्माले अब नयाँ पुस्तालाई अवसर दिइनुपर्ने बताए । उनकै नेपालस्थित निर्वाचन क्षेत्र बागलुङ १ मा ८० वर्षीय चित्रबहादुर केसीविरुद्ध युवा उम्मेदवार डा सूर्य पाठक चुनावी मैदानमा छन् ।

डा शर्माले देशैभरका युवा उम्मेदवार जिताउन प्रयास गर्नुपर्ने बताए । आर्थिक उन्नतिका लागि केही गरौँ भनेर इच्छा राखेरमात्रै नहुने भएकाले ज्ञान र सीप भएका व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।

यसैगरी बेलायतस्थित सफल व्यवसायी तथा समाजसेवी कृष्ण तिमल्सिनाले पनि देशको नेतृत्व अब युवा पुस्ताले लिनुपर्नेमा जोड दिए । पुराना पुस्ताका नेताहरुलाई पटक पटक हेरिएपनि आर्थिक समृद्धिको दिशामा काम गर्न नसकेकाले नयाँलाई अवसर दिनुपर्ने उनको धारणा छ । धादिङका उनले पुराना पुस्ताका नेताहरुको अनुभवसमेत समेटेर युवा पुस्तालाई नेतृत्वमा लैजाने हो भने जनअपेक्षा पुरा गर्न सकिनेतर्फ आशा राख्न सकिने धारणा राखे ।

यस्तै बेलायतमा च्यारिटी किङको रुपमा चर्चित व्यवसायी सूर्य गुरुङले पुरानो पुस्ताको नेतृत्वले ल्याएको विकृतिले स्वतन्त्र उम्मेदवारको महत्व बढाएको बताए ।
पुरानो नेतृत्वले चुनावको बेला नयाँ नयाँ कुराको आश्वासन दिने तर त्यो डेलिभरी गर्न नसक्दा जनतामा निरासा बढ्दै गएको उनको दाबी छ । आगामी निर्वाचनमा भिजन, इमान्दारीता, क्षमता र अनुभव भएका व्यक्तिले चुनाव जितेमा मात्र देशले नयाँबाटो लिने उनको बुझाइ छ ।

उनले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरुलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए । गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङले सर्वसाधारणको मन जितेर आफ्नो क्षमता देखाइसकेको बताए ।

संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व स्वास्थ्य संगठनमा कार्यरत डा संजीव सापकोटाले अहिले नेपालमै बसेर चुनावी माहोल हेरिरहेका छन् ।

लामो समयदेखि अमेरिकामा बसेर काम गरेका डा सापकोटाले नेपालमा स्वास्थ्य र शिक्षाका लागि दीर्घकालीन नीति ल्याउन सक्ने नेतृत्वको अभाव रहेको बताए । देशमा राजनीतिक स्थायित्व नभएकै कारणले विकासले गति लिन नसेकोे डा सापकोटा बताउँछन् । उनले आगामी संसदमा युवाहरुको उपस्थिति अनिवार्य बताउँदै भने, ‘नेपालको कुनाकन्दरामा बसेका नेपालीको स्वास्थ्य र आर्थिक अवस्थालाई सुर्धान सक्ने नेतृत्व चाहियो । आधारभूत स्वास्थ्यको सुरक्षा र ग्यारेन्टी गर्ने संसद आउनु पर्छ । त्यसले देशको आर्थिक अवस्था पनि सुर्धाछ । स्वास्थ्यनै सम्पति हो ।’