१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘नेपालमा योग्य व्यक्ति माथि पुग्ने स्थिति छैन’: प्रा सुवेदी

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७९, शुक्रबार २१:१२

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानून विषयका प्राध्यापक डा सूर्य प्रसाद सुवेदीले नेपालमा योग्य व्यक्तिहरु राजनीतिमा माथि पुग्न नसकेको र पुग्ने स्थिति पनि नभएको बताएका छन् ।

‘देशले काचुली फेर्ने गरि काम गर्न सक्ने क्षमता मैले हालका नेपालका कुनै पनि शिर्ष नेतामा देखेको छैन। सिद्धान्त र निष्ठालाई तिलान्जली दिई सकेपछि नेपालको राजनीति नितान्त सत्तामा पुग्ने र सत्तामा रहने तिकडममा सिमित हुन पुगेको छ,’ प्रा सुवेदीले भने। उनले संविधान संशोधन गरि प्रत्यक्ष निर्वाचनद्वारा कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय पद्धतिमा मुलुक जान सक्यो भने आशावादी हुन सकिने पनि बताए।

एनआरएनएका पूर्व अध्यक्ष तथा सफल व्यवसायी जीवा लामिछानेको विचारमा अवको राजनीतिक भविष्य समेत युवाहरुकै हातमा रहेको छ ।

यसैगरी बेलायतस्थित लिभरपुल विश्वविद्यालयका सिनियर लेक्चरर डा हेमराज शर्मा अब राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने धारणा राख्छन् । धेरै लामो समय राजनीतिक छलफलमै समय सकिएकाले अब आर्थिक विकासको दिशामा देशअघि बढ्नुपर्ने डा शर्माको भनाइ छ । पुरानो पुस्ताले राजनीतिक परिवर्तन गरेपनि आर्थिक समृद्धि ल्याउन नसकेको तर्क गर्दै शर्माले अब नयाँ पुस्तालाई अवसर दिइनुपर्ने उनले बताए ।

त्यस्तै संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व स्वास्थ्य संगठनमा कार्यरत डा संजीव सापकोटाले नेपालमा स्वास्थ्य र शिक्षाका लागि दीर्घकालीन नीति ल्याउन सक्ने नेतृत्वको अभाव रहेको बताए । देशमा राजनीतिक स्थायित्व नभएकै कारणले विकासले गति लिन नसकेकोे डा सापकोटा बताउँछन् । ‘नेपालका कुनाकन्दरामा बसेका नेपालीको स्वास्थ्य र आर्थिक अवस्थालाई सुधार्न सक्ने नेतृत्व चाहियो । आधारभूत स्वास्थ्यको सुरक्षा र ग्यारेन्टी गर्ने साम्सद आउनु पर्छ । त्यसले देशको आर्थिक अवस्था पनि सुधार्छ (किनभने) स्वास्थ्यनै सम्पति हो ।’