११ बैशाख २०८१, मंगलवार
Follow Us

यो सरकार २०७४ माघसम्म टिक्छ : प्रम ओली

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७३, मंगलवार ०६:०४

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार २०७४ माघसम्म टिक्ने दावी गर्दै संसद विघटन नगरिने स्पष्ट पारेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानअनुसार चल्ने भन्दै संविधानत संक्रमणकालीन व्यवस्था अन्तर्गत गठन भएको सरकार २०७४ माघसम्म माघसम्म रहने दावी गरेका हुन् । संविधानले संक्रमणकालमा एकभन्दा बढी सरकारको कल्पनानै नगरेको तर्क गरेका उनले अविश्वासको प्रस्ताव सामना गर्न तयार प्रधानमन्त्रीलाई कांग्रेस–माओवादीले राजीनामाको दबाब दिनु हाँस्यास्पद रहेको बताए ।
अविश्वास प्रस्तावलाई देशविरुद्ध षड्यन्त्रको संज्ञा दिएका प्रधानमन्त्री ओलीले देशको हितमा नभएकै कारण आफूले ‘चुनौति’ दिएको पनि बताए । प्रधानमन्त्रीले संसद विघटनसमेत गर्नसक्ने चर्चा भइरहेका बेला उनले मैदान मासेर खेल खेलिन्छ भन्नेमा आफू विश्वस्त नरहेको प्रष्ट पारे ।
सरकारमा बसिरहनु पर्छ भन्ने मान्यतामा आफू नरहेको स्पष्ट पारेका प्रधानमन्त्री ओलीले देशविरुद्धको षडयन्त्र भने सफल हुन नदिने दृढता व्यक्त गरे । भावनात्मक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले ‘धर्ती छोड्न तयार भएको मान्छेलाई कुर्सी ठूलो कुरा होइन’ भनेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव उपर संसदमा ६ गतेदेखि छलफल हुनेगरी सभामुख ओनसरी घर्तीले समय तोकेकी छन् ।