१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए केन्द्रीय कार्यालयमा २४ सैं घण्टा टेलिफोन सेवा

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७९, शुक्रबार १९:१३

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को केन्द्रीय कार्यालयमा चौबिसै घण्टा टेलिफोन सेवाको सुरुवात गरिएको छ । एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाको सक्रियतामा संघले शुक्रवारदेखि सो सेवाको सुरु गरेको हो ।

संघका अनुसार वैदेशिक रोजगारीमा अलपत्र परेर, विदेशमा घरयासी हिंसामा परेका महिलालगायत अति आवश्यक सहयोग चाहिएमा संघको काठमाण्डौंस्थित केन्द्रीय कार्यालयमा रहेको ००९७७–४४११५३० नम्बरमा फोन गरेर आफ्नो समस्या टिपाउन सकिने छ ।

अध्यक्ष थापाका अनुसार कार्यालय समयभित्र संघको कार्यालयमा कार्यरत कर्मचारीहरुले टेलिफोन सेवा दिने छन् भने कार्यालय समय सकिएपछि पनि सो नम्बरमा प्राप्त सूचनालाई टिपेर राखिने छ र अर्को दिन सचिवालयमार्फत समस्याको समाधान खोजिने छ ।

कार्यालय समय अघिपछि र सार्वजनिक विदाको दिनमा पनि आफ्ना जानकारी टिपाउन सकिने गैरआवासीय नेपाली संघले जनाएको छ । यसअघि संघले कोरोना महामारीको समयमा अस्थायी रुपमा टेलिफोन सेवाको सुरुआवात गरे पनि स्थायी रुपमा पहिलो पटक संघको केन्द्रीय कार्यालयमा सो सेवा सुरु भएको हो ।

टेलिफोन सेवाबाट विदेशस्थित बिभिन्न शहरमा अप्ठ्यारोमा परेका श्रमिक, बिद्यार्थी, महिलालगायत लाभान्दित हुने अपेक्षा गरिएको छ । सो सेवाबाट गैरआवासीय नेपाली परिचयपत्र, एनआरएनए ऐन सम्बन्धी कानुनी सुझाव तथा सल्लाह समेत लिन सकिने बताइएको छ ।