१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘काँग्रेस-माओवादीबीच फाटो पार्न प्रेषित सूचना भ्रमपूर्ण र दुराशययुक्त राजनीतिक अपराध’

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७९, शनिबार ११:४६

काठमाडौँ । निर्वाचनको अघिल्लो दिन शनिबार काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो पार्ने आशयले सामाजिक सञ्जालमा भाइरल भइरहेका भ्रामक सूचनाप्रति दुई पार्टीले आपत्ति जनाएका छन्।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले संयुक्त वक्तव्य जारी गर्दै विभिन्न प्रतिष्ठित मिडियासँग जोडेर भ्रम फैलाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो।’

निर्वाचनको अघिल्लो दिन आममतदातामा अन्योलमा पार्ने गरी षड्यन्त्र गरेको भन्दै काँग्रेस र माओवादी केन्द्रले यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न आग्रह गरेका छन्। साथै उनीहरूले अपराधपूर्ण कार्यमा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्।

नयाँ पत्रिका, सेतोपाटीलगायतका सञ्चारमाध्यमको मास्टर हेड दुरुपयोग गरी शनिबार सामाजिक सञ्जालमा भ्रम फैलाइएको छ।