१३ बैशाख २०८१, बिहीबार
Follow Us

७० प्रतिशत मत खस्‍ने आयोगको अनुमान, आजै साँझबाट मतगणना हुने

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७९, आईतवार ०४:१७

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज आइतबार साँझबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज साँझ ८ बजेतिरबाट मतगणना सुरु हुने बताए ।

भक्तपुरको लोकन्थलीमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थपलियाले मतदान पश्चात साँझसम्म सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरिने र त्ययसपछि मतगणना हुने बताए । यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने आकलन आयोगले गरेको छ ।

मतदान बिहान ७ बजेदेखि सुरु भएको हो ।  निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन् ।  १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ । निर्वाचनमा प्रतिनिधि तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ ।

निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचन पर्यवेक्षण छन्। नेपालस्थित १८ वटा कुटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने कार्यक्रम छ ।