१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०७९, बुधबार ०४:३८

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँले सातौँपटक जित हासिल गर्नुभएको हो ।

कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जित्नुभएको थियो । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।