१५ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दै किराँती विजयी

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७९, शुक्रबार ०५:१३

भोजपुर । भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन् ।

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।

भोजपुरमा प्रदेशसभा (१) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले १६ हजार एक सय १० मत प्राप्त गर्नुभयो । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत ल्याए ।

यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकतर्फको मतगणना शुक्रबारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।