२६ बैशाख २०८१, बुधबार
Follow Us

मेसी चम्किदा अर्जेन्टिनाको जित

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७९, आईतवार ०५:३३

दाेहा । मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २–० अन्तरले पराजित गरेको छ । दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ  । पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २–१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो ।

मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन गरेको लियोनल स्कोलानीको अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो । ८८ हजार ९ सय ६६ समर्थकबीच मेसीले खेलको ६४औं मिनेटमा अग्रता दिलाएका थिए । एन्जल डि मारियाको पासमा मेसीले सेकेन्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए ।

खेल सकिन तीन मिनेटअघि एन्जो फर्नान्डेजले अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । मेसीले उपलब्ध गरेको बललाई फर्नान्डेजले बक्स भित्रबाट ‘कर्लिङ सट’लाई उत्कष्ट फिनिस गरे । २१ वर्षीय फर्नान्डेज खेलको ३३ मिनेट मात्रै मैदानमा रहे । अर्जेन्टिनाको लागि उनको यो पहिलो गोल हो ।

समूह सी को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डको सामना गर्नेछ । जितसँगै  अर्जेन्टिना समूहको दोस्रो स्थानमा उक्लिएको छ । पोल्यान्ड ४ अंकसहित शीर्षस्थानमा छ । समान खेलबाट अर्जेन्टिनाको तीन अंक छ । तीन अंकको साउदी तेस्रो स्थानमा रहँदा मेक्सिको एक अंक सहित पुछारमा छ ।

फ्रान्स एक खेलअघि नै प्रिक्वारटफाइलनमा
केलियन एमबाप्पेको दुई प्रेरित फ्रान्सले डेनमार्कलाई शनिबार राति २ -१ अन्तरले पराजित गर्दै कतार विश्वकपको प्रिक्वाटरफाइनल पक्का गरेको छ । पहिलो खेलमा अस्ट्रेलियामाथि ४- १ को जित हासिल गरेको साविक विजेता फ्रान्स दोस्रो खेलमा डेनमार्कलाई हराउँदै समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै अन्तिम १६ प्रवेश गर्न सफल भएको हो ।

दोहास्थित रंगशाला ९७४ मा पेरिस सेन्ट जर्मन पिएसजीका फरवार्ड किलियन एमबाप्पेले ६२औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाएका थिए । आन्द्रेस क्रिस्टेनसनको हेड गोलमार्फत ६९औं मिनेटमा डेनमार्क खेलमा फर्किएको थियो । तर, एमबाप्पेले समय सकिन चार मिनेट बाँकी रहँदा विजयी गोल गरे ।

दोस्रो विश्वकप खेल्दै गरेका एमबाप्पेको विश्वकपमा कुल गोलसंख्या सात पुगेको छ । फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेमा उनले जिनेदिन जिदानसँग बराबरी गरेका छन् ।

फ्रान्सले ६ अंकका साथ एक खेलअगावै नकआउट चरणको टिकट काट्दा समूहबाट अन्तिम १६ पुग्ने दोस्रो टोलीको निर्णय बुधबार हुने समूह चरणको अन्तिम खेलबाट हुनेछ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया तथा डेनमार्कले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछन् ।

खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।