१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आफ्नै नेतृत्वमा सरकार बनाउन गगन सकृय, देउवाले अघि सारे श्रीमति

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७९, सोमबार ०१:४६

काठमाण्डौं । निर्वाचन परिणाम नआउँदै कांग्रेस महमन्त्री गगन थापाले संसदीय दलको नेतामा ‘फाइट’ गर्दै प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । तर, कांग्रेस सांसदहरूको गुटगत अंकगणितमा भने उनी कमजोर देखिन्छन् । कुनै ‘मिराकल’ भएन भने प्रधानमन्त्रीका दाबेदार रहेका पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने निश्चित देखिन्छ ।

कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी आधा दर्जन छन् । उनीहरूले पार्टीभित्र र बाहिरसमेत आफ्नो पक्षमा माहोल बनाउन औपचारिक तथा अनौपचारिक भेटघाटलाई तीव्रता दिएका छन् । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइरालाको दाबी छ । त्यस्तै, इतर समूहबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापाले दाबी गर्दै आएका छन् ।

संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने कांग्रेस विधानको व्यवस्था छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेको अवस्थामा संसदीय दलमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति दलको नेता हुनेछ । ६ जना प्रधानमन्त्री बन्ने रेसमा रहेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिन्छ । जसले दलको निर्वाचनमा बहुमत जुटाउन सक्छ उही संसदीय दलको नेता बन्नेछ ।

कांग्रेसले प्रत्यक्षमा अहिलेसम्म ५६ स्थानमा जित निकाल्ने सम्भावना छ । आइतबार मध्यरातिसम्मको मतगणनाअनुसार उसले ५३ स्थानमा जित निकालिसकेको छ भने तीन स्थानमा अग्रता लिइरहेको छ । यसमध्ये संस्थापन समूह अर्थात् सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट भनेर चिनिएका ३२ सांसद छन् । त्यस्तै, शेखर–गगन समूह भनेर चिनिएका २१ जना छन् । यस हिसाबले हेर्दा गगन कमजोर देखिन्छन् ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामार्फत निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । महामन्त्री थापाले औपचारिक–अनौपचारिक रूपमा भेटघाटलाई तीव्रता दिएका छन् । गगननिकट स्रोतका अनुसार थापाले निर्वाचित सांसद र कांग्रेसबाहेकका दलका नेतासँग पनि छलफल गरेका छन् । ‘निर्वाचित भएलगत्तै उहाँले दल र दलबाहिरका नेताहरूसँग औपचारिक र अनौपचारिक रूपमा छलफल गरिरहनुभएको छ,’ स्रोतले भन्यो ।

महामन्त्री थापाले निर्वाचित भएलगत्तै संसदीय दलको नेताको तयारीमा लागेको घोषणा गरेका थिए । उनले निर्वाचनबाट प्रधानमन्त्रीका लागि म्यान्डेट पाएको र संस्थापनसँग विद्रोह गरेर परिणाम निकाल्न आफूलाई जिताएर पठाएको दाबी गर्दै आएका छन् । यद्यपि, उनलाई नेता शेखर कोइरालाको साथ रहेको–नरहेको स्पष्ट भइसकेको छैन ।

नेता शेखर कोइरालाले निर्वाचित भएलगत्तै आफ्नो दाबी रहने स्पष्ट पार्दै सभापतिसहितका नेताहरूसँग छलफल गर्ने प्रतिक्रिया दिएका थिए । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला निर्वाचन क्षेत्रमै रहेकाले पार्टीमा थप छलफल गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । ‘उहाँ निर्वाचन क्षेत्रमा नै हुनुहुन्छ । प्रधानमन्त्री बन्छु नै भनेर दाबी गरिसक्नुभएको छैन । कांग्रेसमा प्रधानमन्त्री बन्ने प्रक्रिया छ । काठमाडौं फर्किएपछि पार्टीमा छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ थपलियाले भने, ‘संसदीय दलको नेताको तयारीमा लागिसक्नुभएको छैन ।’ निवर्तमान महामन्त्री शशांक कोइरालाले पनि निर्वाचित भएलगत्तै आफ्नो दाबी रहने प्रतिक्रिया दिएका छन् ।

नेता प्रकाशमान सिंहले निर्वाचित भएपछि शुभकामना आदान–प्रदानका नाममा सभापति देउवा, एमाले अध्यक्ष केपी ओलीलगायतसँग भेट गरेका छन् । उनको सचिवालयका अनुसार सिंहले दलकै नेताका लागि भनेर तयारी थालेका छैनन् । सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम परिणामलाई हेरेर मात्र निर्णय गर्ने उनको मनसाय छ । ‘उहाँले प्रधानमन्त्रीका लागि योग्य छु भन्नुभएको हो । त्यसकै लागि भनेर लाग्नुभएको छैन । अन्तिम मतपरिणाम आएपछि पार्टीभित्र सल्लाहका आधारमा निर्णय लिने पक्षमा हुनुहुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

आइतबार मध्यरातसम्ममा एक सय ५९ स्थानको मतगणना सकिँदा कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता लिइरहेको छ । अग्रता कायम गरेका तीन स्थानमा पनि जितेको अवस्थामा कांग्रेसले प्रत्यक्षतर्फ ५६ सिट पाउने देखिन्छ । यसबाहेक कांग्रेसले समानुपातिकमा पाएको मतको आकलन गर्दा ३३ सिट ९निर्वाचन आयोगको प्रक्षेपणसमेतको आधारमा० पाउने देखिएको छ । संसदीय दलमा बहुमत पाउनका लागि यस आधारमा कांग्रेस संसदीय दल ८९ सदस्यीय हुने सम्भावना छ । संसदीय दलको नेताका लागि ४५ सांसद आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।

अझै पनि प्रत्यक्ष र समानुपातिकतर्फको पूर्ण नतिजा आइसकेको छैन । अरू नेताहरू क–कसले संसदीय दलको नेतामा लड्नुहुन्छ÷लड्नुहुन्न थाहा भएन । तर, अहिलेका सभापति शेरबहादुर देउवाजीका पक्षमा स्पष्ट बहुमत देखिन्छ । हामीले समर्थन गर्ने उहाँलाई नै हो ।

अहिलेको जनमत र अभिमत फेरि पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुँदैन भन्ने नै हो । यसका लागि कसै न कसैले ‘च्यालेन्ज’ दिनु आवश्यक छ । भोलि जित र हारको कुरा अहिले नै भन्न सकिँदैन । आवश्यकता र औचित्यताका आधारमा उहाँ आफैँले अर्को पुस्तालाई प्रधानमन्त्री बन्नुस् भनेर घोषणा गर्नु राम्रो हो । उहाँ नै फेरि प्रधानमन्त्री हुनु देश र जनताका लागि ठीक होइन ।

सभापति शेरबहादुर देउवाले गठबन्धन गर्दा कांग्रेस ठूलो पार्टी बन्छ, कांग्रेसको नेतृत्वमा सरकार बन्छ र म आफैँ प्रधानमन्त्री बन्छु भन्ने सोचले गठबन्धन निर्माण गरेका थिए । टिकट दिने सन्दर्भका अधिकांश आफ्ना पक्षकालाई र शेखर–गगन समूहलाई धेरै कटौती गरेर दिएका थिए । निर्वाचनको परिणाम पनि स्वाभाविक रूपमा देउवाको पक्षमा भयो । गगनले निर्वाचनअघि नै संसदीय दलमा लड्छु भनेर घोषणा गरेका थिए । उनी लड्ने पक्षमा नै अडिग दखिन्छन् ।

उनको पक्षमा बहुमत देखिँदैन, देउवाकै पक्षमा छ । फेरि पनि संसदीय दलको नेता चुनिने ‘कन्फर्म’ देउवा नै देखिन्छन् । देउवाले ‘म सक्दिनँ, दोस्रो पुस्ताको अगाडि आऊ’ भनेको अवस्थामा बाहेक अर्को सम्भावना छैन । यस्तो अवस्थामा अर्कोले चुनौती दिनु मात्र हुन्छ । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको अवस्थामा चुनौती मात्रको पनि अर्थ रहन्छ । कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो नहुनुको परिणाम पार्टीले निर्वाचनमा पनि भोगेको छ ।

निर्वाचनको परिणामले गठबन्धनलाई जनताले समर्थन गरेको पुष्टि गर्दैन । गठबन्धन निर्माण गर्ने देउवानिकटका गृहमन्त्री बालकृष्ण खाण र कृष्ण सिटौलालगायतले पनि हार व्यहोरेका छन् । अहिले गगनले च्यालेन्ज मात्रै गरे पनि महत्वपूर्ण हुन्छ । अब पार्टी नेतृत्वविरुद्धमा आवाज उठ्छ भन्ने सन्देश जान्छ । कांग्रेसले आशातीत सफलता पनि पाउन सकेको छैन ।

देउवालाई गगनबाहेकले च्यालेन्ज गर्ने स्थिति देखिँदैन । उनीहरूले स्पष्ट रूपमा दाबी राखेको देखिँदैन । शेखरले पनि हार्ने स्थितिमा च्यालेन्ज गर्ने भन्दा पनि गगनलाई समर्थन गर्ने देखिन्छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता युवाले पनि यो समयमा महत्वाकांक्षा, नाफा–घाटा हेरेर आवाज नउठाउने स्थिति भयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।
नयाँपत्रिका