११ बैशाख २०८१, मंगलवार
Follow Us

डा अरुण शाहीको क्यान्सर सम्बन्धी कार्यपत्र विश्वमै सर्वोत्कृष्ट घोषित

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७९, शनिबार २३:५९

प्रा. इरिकबाट सर्वोत्कृष्ट अवार्ड प्रदान

सिंगापुर । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले प्रस्तुत गर्नुभएको कार्यपत्र विश्वमै सर्वोत्कृष्ट भएको छ । सिंगापुरमा भएको विश्वभरका क्यान्सर रोग विशेषज्ञहरुको सम्मेलनमा विश्वभरीका क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सरबारे आ–आफ्ना देशमा भएका उपलब्धीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

विश्वभरबाट तीनसय कार्यपत्रहरु प्रस्तुत भएकोमा डा. शाहीको कार्यपत्रलाई सर्वोत्कृष्ट घोषित गरिएको थियो । डा.शाहीलाई बेल्जियमका क्यान्सर रोग विशेषज्ञ प्रा डा. इरिक भ्यान कटसेमले उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

क्यान्सर रोग विशेषज्ञ डा. शाहीले ‘खानपिन र दैनिक जिवनशैलीले पेटको क्यान्सर हुने जोखिम’ कत्तिको छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त खोजमुलक अनुसन्धान कार्यपत्र युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजिष्टको आयोजनामा भएको सम्मेलनमा सिंगापुरमा प्रदान गरियो ।

क्यान्सर सम्बन्धि विश्वका चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए । विश्वका कार्यपत्रबाट डा. शाहीको कार्यपत्र सर्वोत्कृष्ट कार्यपत्र छानिन गएको हो ।

सिंगापुरको सुनटेक कम्प्लेक्स हलमा भइरहेको सम्मेलनमा सिंगापुर, अमेरीका, ब्राजिल, बेलायत, भारत, चीन, वंगलादेश, श्रीलंका, जापान, मेक्सिको लगायतका विश्वका सबै देशका क्यान्सर विशेषज्ञहरुको सहभागित रहेको छ ।

डा.शाहीले सम्मेलनमा क्यान्सर उपचारमा विश्वले गरेको प्रगति, विकशित देश र विकासोन्मुख मुलुकमा क्यान्सर उपचारको क्षेत्रमा भएका प्रविधिको विकास, क्यान्सरलाई घटाउन अपनाउनुपर्ने रणनीति, क्यान्सर उपचारमा भित्रिएको नयाँ प्रविधि लगायतका विषयमा सम्मेलनमा छलफल भएको जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा विश्वबाट तीनहजार क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहेको छ ।