१५ चैत्र २०८०, बिहीबार
Follow Us

ज्ञानेन्द्रको कप्तानी पारी, केन्याविरुद्ध नेपाल ७ विकेटले विजयी

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार ०७:४६

काठमाडौं । ज्ञानेन्द्र मल्लले कप्तानी पारी खेलेपछि नेपालले केन्याविरुद्ध को दोश्रो खेलमा ७ विकेटको जित निकाल्यो । मल्लले ९३ बल खेल्दै अविजीत ८ चौका र एक छक्का प्रहार गरेर ६४ रन बनाए । उनलाई दीपेन्द्रसिंह ऐरले साथ दिएका थिए । दीपेन्द्र ओवयोको बलमा गोन्दारियालाई क्याच गराउनु अघि उनले पनि ८ चौका र १ छक्काको मद्दतले ६२ रन जोडेका थिए ।
ओपनर व्याट्सम्यान सुनिल धमलालाई दोश्रो ओभरमै गुमाएको नेपालले तेश्रो ब्याट्सम्यानका रुपमा आएका सागर पुन पनि ६ रन बनाएर ओटिनोको बलमा एलबीडब्लुको धरापमा परेका थिए ।
यद्यपि यो जितले नेपाललाई अंक तालिकामा कुनै असर गर्दैन । केन्या १० अंकसहित पाँचौं स्थानमा छ भने नेपालले ८ अंक जोड्दै छैटौं स्थानमा रहनेछ । दुवैले टोलीले १० खेल खेलिसकेका छन् ।
दीपेन्द्र आउट भएपछि आएका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ११ बलमा २४ रन जोडेका थिए । उनले ४ चौका र १ छक्का हिर्काएपछि नेपालले ३० ओभर २ बलमा लक्ष्य भेट्टायो ।
टस जितेर बलिङ रोजेको नेपालले  एक सय ५६ रनको लक्ष्य पाएको थियो ।  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेष्वाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे ।

यस्तै मेहेबुब आलम र वसन्त रेग्मीले दुई-दुई विकेट लिए । आलमले आज निकै कसिलो बलिङ गरे । उनले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । यस्तै सागर पुन र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।
केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । केन्याका आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ बनाए ।
शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल पटक पटक वर्षाका कारण अवरुद्ध भएको थियो । आज मौसमले साथ दिएको थियो ।  विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राख्न नेपालले आजको खेल जित्नैपर्ने बाध्यता थियो ।