७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्राध्यापक सुवेदीलाई बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका

नेपालब्रिटेन डट कम्
१ पुष २०७९, शुक्रबार ०५:०९

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् ।

युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक ठूलो सम्झौता भएको थियो । ‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तर्राष्ट्रिय कानुनका प्रबुद्ध विद्वानहरूको मध्यस्थता (आर्बिट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो ।

त्यहीप्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तरराष्ट्रिय कानुनका शीर्षस्थ विद्वानहरुको सूची तयार गर्ने क्रममा प्रा. सुवेदीले प्राध्यापकको रूपमा अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो ।

यस्तो नियुक्तिले युरोपेली संघ र बेलायतबीचको भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा प्रा सुवेदीले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय कानूनका थुप्रै शीर्षस्थ विद्वान भएको बेलायतबाट छानिने ६ जनाको नाममा आफ्नो नाम पनि समावेश भएकामा प्राध्यापक सुवेदीले आफू गौरवान्वित भएको बताएका छन् ।