१६ चैत्र २०८०, शुक्रबार
Follow Us

श्रमिक सामाजिक सुरक्षा कोषमा जोडिनु सकरात्मक : एनआरएनए

नेपालब्रिटेन डट कम्
६ पुष २०७९, बुधबार १६:०१

लण्डन । गैरआवासीय नेपाली संघले सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि तयार गरी सार्वजनिक गरेको प्रति हार्दिक आभार प्रकट गरेको छ ।

संघका उपाध्यक्ष तथा प्रमुख, वैदेशिक रोजगार विभाग प्रमुख डिबी क्षेत्रीले बुधवार एक विज्ञप्ति जारी गर्दै एनआरएनएको लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

विज्ञप्ति पूर्णपाठ

२० डिसेम्बर २०२२ का दिन सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि तयार गरी सार्वजनिक गरेको प्रति हार्दिक आभार प्रकट गर्दछौं ।

जब नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना भयो त्यो भन्दा पहिले देखि नै गैरआवासीय नेपाली संघले यस कोषमा विदेशमा रहेका नेपालीलाई पनि समेटिनु पर्छ भनेर वकालत तथा पैरवी गर्दै आएको थियो । ओमानमा हजारे अभियानको प्रस्तावमाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भई पहिलो संविधानसभाबाट वैदेशिक रोजगारमा गएकाहरुलाई समेट्नेगरी प्रस्ताव पारित गराएका थियौ र यस कार्यका लागि तत्कालीन प्रधानमन्त्री र अर्थ मन्त्रीलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।

यस विषयमा संघले जिम्मै लिएर सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । साथमा संघमा विशेषगरी भारतसहित, मध्य पूर्व अनि अन्य श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व संघले गरेको थियो । आज एक दशकभन्दा बढी समयपछि त्यो छलफल र संघको पहलले मूर्त रुप लिएको छ ।

वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको छ । यो हाम्रो लागि गौरवको कुरा हो । त्यसो त, संघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।

सन् २०१३ गैरआवासीय नेपाली संघ ओमानमा हजारे अभियानको प्रस्तावनामाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भएको थियो । नेपाल सरकार र सरोकारवालाहरुसंग विभिन्न चरणमा छलफल भई सन् २०१६ मा सुरक्षाकोषमा सहकार्य गर्न संघ र सरकार बीच सम्झौता भयो । त्यही वर्ष कर्मचारी सञ्चय कोषसंग पनि सम्झौता भएको थियो ।

क्रमश सन् २०१७ देखि २०२१ सम्म पनि नेपाल सरकारका प्रधानमन्त्रीज्यूहरुले यस अभियानमा सहमति जनाउनु भएको यति लामो पहल र प्रयासपछि अहिले २०२२ को अन्त्यमा आएर यो अभियानले सफलता पाएकोमा संघ नेपाल सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै यस प्रणालीलाई समतामूलक र समाजवाद उन्मुख अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको छ ।

आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरि यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्न चाहन्छौं र सरकारले संघप्रति गरेको विश्वास र हामीले सरकारमाथि गरेको भरोसा मिलाएर यो अभियानलाई सफल बनाउन संघ प्रतिबद्ध छ ।

अन्त्यमा, एनआरएनएको लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्यायको सुरुवात पनि हो । यस महान कार्यलाई सफल बनाउन भूमिका खेल्नु हुने नेपाल सरकार, सरकारी अधिकारीहरु, सरोकारवालाहरु, सम्पुर्ण गैरआवासीय नेपाली अभियन्ता तथा अग्रजहरु, सञ्चारकर्मी एवं सम्बन्धित सबैलाई धन्यबाद दिन चहान्छौं ।

डि.बि क्षेत्री,

उपाध्यक्ष तथा प्रमुख, वैदेशिक रोजगार विभाग
गैरआवासीय नेपाली संघ ।

मितिः २१ डिसेम्बर २०२२