१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलार्इ दिने !

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार ०५:३०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर गु्रप कम्पनी लिमिटेड (सीजीजीसी) लाई जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषद्मार्फत प्रक्रिया सुरु गरेका छन् ।
अर्थ मन्त्रालयलाई समेत सहमत गराई मन्त्रिपरिषद्बाट पारित गर्नेगरी सीजीजीसीले हालेको प्रस्तावउपर प्रधानमन्त्रीको निर्देशनमा ऊर्जा मन्त्रालयले कारबाही सुरु गरेको छ । सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रले सरकारबाट हट्ने निर्णय गरेकै दिन गत असार २८ गते सीजीजीजसीले ऊर्जा मन्त्रालयमा प्रस्ताव हालेको थियो । सीजीजीसीले उसको एजेन्टमार्पmत प्रधानमन्त्रीलाई ‘विश्वस्त’ पारेपछि प्रक्रिया सुरु गरिएको ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
निमित्त ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सीजीजीसीले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि इपीसी–एफ मोडेल (इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स) को प्रस्ताव गरेको पुष्टि गरे । उनले उक्त कम्पनीको प्राविधिक र वित्तीय अवस्थालगायत सबै जानकारी उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत चिनियाँ दूतावासमा ऊर्जाले पत्राचार गरेको बताए । ‘सीजीजीसीले हामी इच्छुक छौं भनी प्रस्ताव हाल्यो,’ घिमिरेले मंगलबार भने, ‘उक्त कम्पनीबारे सबै जानकारी प्राप्त गर्न हालै पत्राचार गरेका छौं ।’
चिनियाँ दूतावासले पत्रमार्फत आधिकारिक रूपमा विवरण पठाएपछि मात्र बूढीगण्डकी आयोजनाबारे केकसरी अघि बढ्ने भन्ने निर्णय लिइने घिमिरेले बताए । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र एवं कार्ययोजना, २०७२ मा पनि इपीसी–एफ मोडेलबाट जलविद्युत् आयोजना विकास गराउने उल्लेख भएकाले त्यसअनुसारै प्रस्ताव आह्वान गरिएको पनि घिमिरेले बताए ।
ईपीसी–एफ मोडलअनुसार सीजीजीसीले आयोजनाको सम्पूर्ण लागत जुटाइदिने र आपैंले निर्माण गरिदिने हो । सीजीजीसीले माथिल्लो त्रिशूली थ्री ए पनि ईपीसी मोडेलमा निर्माण गरिरहेको छ । ईपीसी मोडेलमा ठेक्का पाएर पनि यसको लागत सम्झौताभन्दा बढी भइसकेको छ ।
– अन्नपूर्ण पोष्टबाट