१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आगलागीमा परी मृत्यु भएका पाण्डेलाई एनआरएनए कम्बोडियाको सहयोगमा नेपाल ल्याउने तयारी

नेपालब्रिटेन डट कम्
१५ पुष २०७९, शुक्रबार ०८:५७

लण्डन । कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ ।

उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले जानकारी दिए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

‘बैंककस्थित नेपाली राजदूतावासका प्रथम सचिव खगराज पाण्डेयलगायत व्यक्ति घटनास्थल आउनुभएको छ । उहाँहरूको समन्वयमा पाण्डेको शव नेपाल पठाउने तयारी गरिरहेका छौं‚’ उनले भने ।

बिर्तामोड १‚ झापाका पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए ।

कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ ।