१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सन् २०२२ मा महत्वपूर्ण उपलब्धि : एनआरएनए

नेपालब्रिटेन डट कम्
१५ पुष २०७९, शुक्रबार १०:१४

लण्डन । गैरआवासीय नेपाली संघले सन्। २०२२ मा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ । संघले शुक्रवार नयाँ वर्ष २०२३ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्ष २०२३ मा पनि संघले विचाराधिन र पाइपलाइनमा रहेका एजेन्डालाई घनीभूत रुपमा अगाडी बढाउने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिको पूर्णपाठ

अंग्रेजी नयाँ वर्ष २०२३ को शुभकामना

अंग्रेजी नयाँ वर्ष २०२३ को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
इस्वीसम्बत् पात्रो अनुसार प्रत्येक वर्ष जनवरी १ तारिखलाई नेपालसहित संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमामनाइने गरिएको छ । बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वीसम्वतलाई पनि हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउँछौँ ।

सन् २०२२ लाई समग्र दृष्टिले उपलब्धीपूर्ण वर्षको रूपमा लिन सकिन्छ । गैरआवासीय नेपाली संघले उठाएका महत्वपूर्ण एजेन्डा र मागहरुको सम्बोधन यही वर्षमा भएको छ ।
नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र करीब १० अर्ब बराबरको लगानी कोष भएको ‘एन.आर.एन नेपाल डेभलपमेण्ट कम्पनी’ दर्ता गरी हाल आवश्यक कामहरु अगाडी बढीरहेको छ । वैदेशिक रोजगारी तथा आप्रवासनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनको लागि संघले नेपाल सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ । ‘हजारे अभियान’को रुपमा स्थापित गरेको सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रुपमा भर्खरै मात्रै सरकारले ल्याएको ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९’ लाई संघले महत्वपूर्ण उपलब्धि ठानेको छ ।

संघले स्थापनाकालदेखि नै माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरिसकेको छ । संविधानको मुल मर्म अनुरुप नै सो व्यवस्था छिट्टै कार्यान्वयन हुनेमा संघ विश्वस्त छ । नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकारले निर्वाह गरेको भूमिका प्रति संघ हार्दिक आभार गर्दछ ।

कोरोना महामारी माझ अक्सिजन कन्सन्ट्रेटर तथा मास्क विवतरण देखि नेपालका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरियो । गैरआवासीय नेपाली नागरिकता, लगानी तथा वैदेशिक रोजगारका विषयमा विभिन्न सत्रहरुको आयोजना गरियो भने आइओएमसँग प्रवासी कामदारको ज्ञान र सीपबारे छलफल गर्ने मौका हामीलाई प्राप्त भयो । यही वर्ष एनआरएनए स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन, एसियाप्रशान्त र युरोप क्षेत्रीय भेला समेत सम्पन्न भएका छन् ।

पर्यटन प्रवर्धनका सन्दर्भमा संघ तथा प्रदेशस्तरिय सहकार्य भएको छ । संघले चितवन र धनगढीमा मोबाईल ब्लड बस सेवा सञ्चालनमा ल्याईसकेको छ र बाँकी अन्य ५ प्रदेशमा संचालन गर्ने योजना अनुरुप आवश्यक कामहरु भईरहेका छन् । डोटीको भूकम्पपिडितलाई सहायता सहित झापा, गाईघाट लगायतका स्थानमा विभिन्न शिविर सञ्चालन गरिएको छ ।
विभिन्न एनसीसीहरु द्वारा विभिन्नजिल्लामा रक्तदान कार्यक्रम सहित विभिन्न परोपकारी तथा सामाजिक कार्य समेत सञ्चालन गरिएको छ ।

त्यस्तै विभिन्न एनसीसीको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा मोबाइल ट्वाइलेटको अवधारण ल्याइएको छ । पोखरामा आधुनिक शौचालयको निर्माणका लागि पोखरा महानगरपालिका सँग समन्वय भईरहेको छ ।

नयाँ वर्ष २०२३ मा पनि संघले विचाराधिन र पाइपलाइनमा रहेका एजेन्डालाई घनीभूत रुपमा अगाडी बढाउने प्रतिबद्धता जनाउँछ ।

अन्तमा, स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा नववर्ष २०२३ ले खुशीको संचारसहित सुदृढ राष्ट्रिय एकता र आत्मीय सामाजिक सद्भाव सहित आर्थिक समृद्धिको लागि नयाँ जोश, उमङ्ग र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना प्रकट गर्दछौ ।

रविना थापा डा. बद्री के.सी कुल आचार्य
कार्यकार अध्यक्ष अध्यक्ष अध्यक्ष

गैरआवासीय नेपाली संघ ।

मिति : ३० डिसेम्बर २०२२