११ बैशाख २०८१, मंगलवार
Follow Us

मौसमी कामदारले समेत अब तीन महिनाका लागि श्रम स्वीकृति लिनु पर्ने

नेपालब्रिटेन डट कम्
१८ पुष २०७९, सोमबार ०४:४६

काठमाडौं । सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ। दुई वर्षको मात्रै श्रमस्वीकृति दिइरहेको सरकारले अब तीन महिनादेखि एक वर्षको लागि श्रम स्वीकृति दिने भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले मौसमी कामदारको माग अत्यधिक आएकाले मौसमी कामदार व्यवस्थापन निर्देशिका बनाएर पठाउन लागिएको बताए।

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामका लागि श्रमिक पठाउन लागिएको हो। छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम (१) को अधिकार प्रयोग गरी निर्देशिका बनाएको हो।

ऐनको दफा ३ र ६ अनुकूल हुने गरी सरकारले द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने जनाइएको छ। नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गर्ने निर्देशिकामा उल्लेख छ।

ऐनको दफा ३ बमोजिम श्रम सम्बन्ध स्थापना भएपछि मौसमी रोजगारका अवसर दिनका लागि रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानुनबमोजिम रोजगारदाताले सहजीकरण गर्नेछन्। स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरण गर्न पाउनेछन्। विवरण खुलाई अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

रोजगारदाताको पूर्ण विवरण (कम्पनीको हकमा सम्बन्धित मुलुकको कानुनअनुसार कम्पनी दर्ता भएको प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र), रोजगारीको किसिम र संख्या, आवास, खाना, स्वास्थ्य बिमा र कामदारको सुरक्षा, न्यूनतम सेवा र सुविधाको प्रमाणपत्र पेस गर्नुपर्छ।

सम्बन्धित मुलुकको प्रवेशाज्ञा लिँदा लाग्ने शुल्क तथा कामदार पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले व्यहोर्ने सुनिश्चितता गरिएको छ। सम्बन्धित मुलुकमा कामदारका लागि सुरक्षित कार्यस्थलको सुरक्षण भएको प्रत्याभूतिपत्र नेपालबाट कामदार छनोट गरी सम्बन्धित मुलुकमा नपुग्दासम्म छनोट भएको कामदारले कुनै शुल्क बुझाउनु नपर्ने भएको छ।

मौसमी रोजगारको अवधि समाप्त भएपछि रोजगारदाताको खर्चमा स्वदेश फर्काउने प्रत्याभूति हुनुुपर्ने व्यवस्था गरिएको छ। उपदफा (१) बमोजिम प्राप्त रोजगारीको माग प्राप्त भएपछि सम्बन्धित नेपाली कूटनीतिक नियोगले मागपत्रको जाँचबुझ गरी वैदेशिक रोजगार सूचना प्रणाली प्रणालीमा रहेको मौसमी रोजगारसँग सम्बन्धित छुट्टै इकाइमा प्रविष्ट गर्नु पर्नेछ।

उपदफा (१) बमोजिम मागपत्र पठाउँदा नेपालको कुनै खास स्थानीय तहमार्फत उम्मेदवार छनोट गर्ने गरी मागपत्र पठाउन सक्नेछन्। उपदफा (२) बमोजिम प्रणालीमा मागपत्र प्रविष्ट भएको सात दिनभित्र विभागले मौसमी रोजगारीका लागि जान चाहने व्यक्तिको छनोट गरी पठाउन स्थानीय तहलाई जानकारी गराउनु पर्नेछ। सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ।