८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली दूतावास भियानामाथि मानव तस्करीको आरोप

नेपालब्रिटेन डट कम्
२१ पुष २०७९, बिहीबार ०४:२२

लण्डन । अष्ट्रियाको भियानामा रहेको नेपाली राजदूतावास क्रोशियामा नेपाली कामदार पठाउने कागजातसम्बन्धी विवादमा तानिएको छ ।

क्रोइशियामा कामदार पठाउन रोजगार मागपत्र प्रमाणीकरण गर्ने बहानामा त्यहाँस्थित नेपाली राजदूत भरतकुमार रेग्मी लगायतको मिलोमोतो ठूलो संख्यामा श्रमिकहरु युरोप छिराउन लागेको आरोप स्थानीय अगुवाहरुले लगाएपछि दूतावास विवादमा मुछिएको हो ।

गैरआवासीय नेपाली संघ अष्ट्रियका पूर्वअध्यक्ष विनोद चौलागाईले नै दूतावासको संलग्नतामा गैरकानूनी काम भएको बताए । तर, राजदूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ तथा अन्य प्रचलित कानून बमोजिम तय भएका श्रम गन्तब्य मुलुकहरुमा कामदारहरु पठाउनका लागि मात्र पत्र प्रमाणीकरण गर्ने कार्य नेपाली राजदूतावासको कार्यक्षेत्र रहेको जनाएको छ ।

दूतावासभित्र विचौलियाले अनावश्यक चलखेल गर्न नपाउने र मागपत्र प्रमाणीकरण कार्य पारदर्शी र व्यवस्थित बनाउन सचेत र सजक रहेको दूतावासले दावी गरेको छ । विज्ञप्तिमा सामाजिक सन्जालमा प्रकाशित क्रोएशियामा कामदार पठाउने सम्बन्धी रोजगार मागपत्र प्रमाणीकरणसँग जोडिएर आएका समाचारहरु भ्रामक रहेको उल्लेख छ ।

राजदूतावासले प्रचलित कानून बमोजिम माग पत्र प्रमाणीकरण कार्यलाई व्यवस्थित गर्नका लागि विद्यमान व्यवस्थामा रही सुधार गर्नुपर्ने देखिएकाले अगष्ट २०२२ देखि मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ ।

विज्ञप्तिमा क्रोएशियामा हालै सेन्जेन समूहमा प्रवेश गरेको बिषयमा दूतावासपूर्ण रुपमा जानकार रहेको र सो समूहमा प्रवेश भएपछि परिवर्तन हुनसक्ने अध्यागमन तथा श्रमसम्बन्धी कानूनी व्यवस्थाका बारेमा स्पष्ट जानकारी आएपछि मात्र सम्बन्धित मुलुकका कम्पनीहरुबाट प्राप्त हुने माग पत्र प्रमाणीकरण कार्य सुचारु गरिने उल्लेख छ ।

यसअघि गैरआवासीय नेपाली संघ अष्ट्रियका निवर्तमान अध्यक्ष विनोद चौलागाई र सञ्चारकर्मी बाबाराजेश्वरी थापाले अष्ट्रियाको लागि नेपाली राजदुत र कर्मचारीहरुको समेत संलग्नतामा मानव तस्करी भएको भन्दै हेलो सरकारमा उजुरी दर्ता गरेका थिए ।