१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता, औपचारिक घोषणा नगर्ने

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७३, बुधबार ०६:१६

काठमाडौं । सप्तरी घट्नापछि सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल समर्थन फिर्ताको औपचारिक घोषणा नगर्ने भएको छ । तर सरकारको पक्षमा नरहेको पनि मोर्चाले स्पष्ट पारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । काठमाडौंको विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्तापछिको अवस्था, आन्दोलनका कार्यक्रम र अन्य विषयमा छलफल हुने बताइएको छ । सप्तरी घटनामा प्रहरीको गोली लागी पाँच जनाको मृत्यु भएपछि मधेस केन्द्रित दलका नेताले सरकारलाई दिएको समर्थ फिर्ता लिन सात दिने अल्टिमेटम दिएका थिए । आफ्ना माग पूरा हुन नसकेको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्न आज बैठक बोलाएको हो । सचिवालयले प्रस्ताव गरेको आन्दोलनका कार्यक्रम आज शीर्ष नेताबीचको छलफलपछि सार्वजनिक गरिने बताइएको छ । सचिवालयले माध्यमिक शिक्षा परीक्षा भएकाले चैत ३ देखि ११ गतेसम्म प्रचारात्मक कार्यक्रम, चैत मसान्तसम्म मधेसका जिल्लामा धर्ना, जुलुस, सभालगायत कार्यक्रम प्रस्ताव गरेको छ ।
यसैबीच, प्रधानमन्त्री दाहालको निमन्त्रणमा मधेसी मोर्चाका नेता छलफलका लागि सिंहदरवार पुगेका छन् । दस बजेपछि उनीहरुबीच पछिल्लो परिस्थितिबारे छलफल भइरहेको हो ।