१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनको लगानी सरकारको प्राथमिकता: प्रधानमन्त्री दाहाल

नेपालब्रिटेन डट कम्
२६ पुष २०७९, मंगलवार २१:१०

लण्डन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैर आवासीय नेपालीहरूले नेपालमा सहज तरिकाले लगानी गर्ने वातावरण निर्माण सरकारको प्राथमिकता हुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्ने क्रममा सम्बोधन प्रधानमन्त्री दाहालले व्यवसायिक र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत र संरचनागत सुधार गर्ने तथा गैरआवासीय नेपालीहरूले नेपालमा सहज तरिकाले लगानी गर्ने वातावरण निर्माण सरकारको प्राथमिकता हुने बताए ।

दाहालले कृषि, प्राकृतिक स्रोत, ज्ञान र उच्च प्रविधिमा आधारित उद्योगको विकासबाट औद्योगिक उत्पादन बढाई निकासी बृद्धि गर्ने र पूँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुन नदिने पनि प्रतिबद्धता उनको प्रतिबद्धता थियो ।

‘२०७२ को संविधान अहिले रहेका निकै ठूलो जटिलताबीच बनाइएको दल हो । यो संविधान कार्यान्वयन गर्ने विषयमा हाम्रो प्रतिबद्धता निकै छ । अहिलेको सत्ता साझेदारबीच संविधान, संघीयता कार्यान्वयन गर्ने र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र विकास निर्माण र सुशासन दिने विषयमा सहमति छ,’ उनले भने, ‘प्रतिनिधिसभा विघटनको सही थियो वा थिएन भन्ने विषयमा अहिले गठबन्धनको एजेन्डा होइन, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।’

विश्वासको मतका लागि भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतको उदाहरण दिँदै आफू प्रधानमन्त्री हुँदा गरेको दुई पटकको प्रतिनिधिसभा विघटनको बचाउ गरेका थिए । ओलीपछि बोल्न आएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ओलीको धारणा गठबन्धनको धारणा हो भनेर प्रश्न गरेका थिए ।

उनले अहिले पनि गठबन्धनमा कतिपय विषयमा दलहरुबीच मतभिन्नता रहेको र सत्ता गठबन्धन बाहिर रहेका दलहरुबीच विषयवस्तुमा सहमति रहेको बताए ।

‘हामी सत्ता साझेदार दलहरुमा कैयौं विषयमा मत भिन्नताहरु थिए । आज पनि छ्न । सत्ता साझेदार बाहेकका दलहरुसँग कतिपय विषयमा हिजो सहमति थियो र अहिले पनि छ । यहाँ संविधानको विषयमा जसरी कुरा उठ्यो, हामी सबैलाई थाहा भएको कुरा हो,’ दाहालले भने ‘यो राष्ट्रको मूल कानुन हो । संविधानसभाबाट बनेको यो संविधानबारे हामीले विगतमा गल्ती कमजोरी समीक्षा गरेकै हो ।’

उनले सरकारको साझा न्यूनमत कार्यक्रम नै गठबन्धन दलबीचको एकताको आधार भएको बताए । ‘अहिले सत्ता साझेदारहरु निश्चित न्यूनतम कार्यक्रममा आबद्ध छौं, हाम्रो एकताको आधारमा हामीले निर्धारण गरेको नीति र साझा कार्यक्रम नै हो,’ प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको चुनावमा जनताको अभिमत जसरी व्यक्त भएको छ त्यसैअनुसार सरकार गठनका प्रयास गरिएको छ । विचार, धारणाको आधारमा फरक-फरक प्रकारको दलहरु अहिलेको संसद्‌मा रहेको छ ।’