१२ बैशाख २०८१, बुधबार
Follow Us

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार १२:५०

धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको शृङ्खला भएको बताउनुभएको छ । एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध छैन ।”

नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डो-याउनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले देशलाई फेरि पनि गरिबै राख्ने, अगाडि बढ्न नदिने, सम्पन्न हुन नदिने प्रयास निर्देशित रुपमा भइरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले देशमा शान्ति छाउन नदिने, संविधान बन्न नदिने, संविधान बनेपछि कार्यान्वयन हुन नदिने प्रयास भइरहेको जनाउँदै उहाँले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय एकता र समाजिक सद्भाव खलबलिन नदिन सबै चनाखो हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सभामा एमालेका उपाध्यक्ष वामदेव गौतमले सप्तरी जिल्लामा हत्याकाण्ड गराएर एमालेलाई बद्नाम गर्न चाहनहरु आफैँ बदनाम भएको बताउनुभयो । एमालेका अर्का उपाध्यक्ष भीमबहादुर रावलले तराई, पहाड र हिमालका जनताले एकता चाहेको उल्लेख गर्दै ‘जनतालाई टुटाउने र विभाजित गरेर बाह्य हस्तक्षेप निम्त्याउने षड्यन्त्र’ देशमा सफल हुन नदिइने बताउनुभयो । “एमालेले भारत, चीन, अमेरिका सबै देशसँग राम्रो सम्बन्ध चाहेको छ तर नेपालको स्वाधीनतालाई झुकाउने, बाह्य हस्तक्षेप निम्त्याउने कुरालाई अस्वीकार गर्छ, ” उहाँले भन्नुभयो । सभामा एमालेका नेता कर्ण थापा, प्रेम आले मगर, गरिमा शाह, नारदमुनि रानालगायतले पनि बोल्नुभएको थियो ।

सभामा नेकपा (माओवादी केन्द्र) डोटीका डम्बरबहादुर सिंहलगायत व्यक्ति एमालेमा प्रवेश गर्नुभएको थियो । स्थानीय बजारको मुख्य सडकको चोकमा एमालेले सभा गरेका कारण झन्डै तीन घन्टासम्म आवागमन अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका थिए । गत फागुन २१ देखि पूर्वी नेपालबाट सुरु गरिएको सो अभियान आजै कञ्चनपुरमा पुगेर औपचारिक रुपमा समापन गर्न लागिएको जनाइएको छ ।