१२ बैशाख २०८१, बुधबार
Follow Us

हवाई यात्रा गर्दा नेपाली नागरिक सरहको भाडा कायम गर्न एनआरएनएद्धारा सरकारको ध्यानाकर्षण

नेपालब्रिटेन डट कम्
६ माघ २०७९, शुक्रबार १४:०८

गैरआवासीय नेपाली संघले विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्राका क्रममा विदेशी सरह हवाई भाडा लागू गरिएको भन्दै तत्काल सो व्यवस्था खारेज गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्षत्रयसहितको प्रतिनिधि मण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई ज्ञापनपत्र बुझाउँदै नेपालमा गैरआवासीय हवाई भाडालाई नेपाली नागरिक सरह हुने गरि व्यवस्था गर्न आग्रह गरेको हो । भेटमा संघकी कार्यकारी अधिकारी रबिना थापाले नेपालको पर्यटन प्रबद्र्धन क्षेत्रमा गैरआवासीय नेपालीहरुको सहभागीतालाई बढाउन आवश्यक नीति बनाई सहजीकरण गरिदिन मन्त्री किराँतीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरुले विश्वका विभिन्न देशमा नेपाली कला, संस्कृतिलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा सरकारसँगको साझेदारीमा थप कार्यक्रम गर्न उत्सुक रहेको बताउनुभयो ।

अध्यक्ष कुल आचार्यले नेपाललाई विश्व समुदायसँग जोड्न गैरआवासीय नेपाली संघले पुलको काम गर्दै आएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताउनुभयो । काठमाण्डौंस्थित त्रिभुवन विमानस्थलमा सञ्चालन सुरु गरिएको एनआरएन हेल्प डेस्क हाल बन्दप्रायः अवस्थामा रहेकोले त्यसलाई चुस्त दुरुस्त बनाई नियमित सञ्चालनमा ल्याउन अध्यक्ष आचार्यले मन्त्री किराँतीको ध्यानाकर्षण गराउनुभयो ।
संघका उपाध्यक्ष आर के शर्माले मध्यपूर्वका पर्यटकलाई आकर्षित गर्न नेपाल सरकारले हालसम्म कुनै ठोस योजना बनाउन आग्रह गर्नुभयो । उहाँले संघले मध्यपूर्वका पर्यटक नेपाल ल्याउन सकिने भन्दै त्यसका लागि सरकारले पनि सहकार्य गर्नुपर्ने बताउनुभयो । सो अवसरमा मन्त्री किराँतीले हवाई यात्रामा भइरहेको विभेद हटाउने, विमानस्थलका विकृति अन्त्य गर्ने र सहज रुपमा नेपालमा आउने र घुम्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीसँग सरकारले पनि सहकार्य गर्दै आएकोले आगामी दिनमा पनि सो सहकार्य यथावत रहने उहाँको भनाई थियो । भेटका क्रममा मन्त्री किराँतीले नेपालमा आउँदा गैरआवासीय नेपालीले भोग्नुपरेको समस्या छिट्टै समाधान हुने उल्लेख गर्नुभयो ।

विदेशमा गरिने कार्यक्रम र नेपालमै आयोजना हुने कार्यक्रममा पनि गैरआवासीय नेपालीको सहभागिता बढाउने उहाँको भनाई थियो । उहाँले अन्तरमन्त्रालयगत समन्वय गरेर संघले उठाएका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटका अवसरमा संघका अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका महिला सचिव राधिका गुरुङ, प्रवक्ता सोम सापकोटा युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, लगायतको उपस्थिति रहेको थियो ।