१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग भेटघाट सम्पन्न

नेपालब्रिटेन डट कम्
६ माघ २०७९, शुक्रबार १४:१४

गेरआवासीय नेपाली संघका प्रतिनिधिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग भेटघाट गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीले वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका विशेषतः घरेलु महिलाहरुले भोग्नुपरेको समस्या, विविध कारण विदेशका जेलमा रहेका महिलाका अवस्था लगायतका विषयमा मन्त्री चौधरीलाई जानकारी गराउनुभयो । यस्तै, वैदेशिक रोजगारीबाट नेपालमा फर्किएका नेपाली महिलाहरुको पुर्नएकीकरणसहित, उनीहरुका लागि स्वरोजगारका योजना कार्यान्वयनमा ल्याउन पनि अध्यक्ष केसीले मन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।
भेटका क्रममा अध्यक्ष कुल आचार्यले संघका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि भइरहेका कामहरुबारे जानकारी गराउँदै आगामी दिनमा पनि सरकारसँग सहकार्य गरेर थप कार्यक्रम गर्न तयार रहेको जानकारी गराउनुभयो । यस्तै, नेपाल तथा नेपाली श्रमिक महिलाको जनघनत्व बढी रहेका देशहरुमा समेत नेपाल सरकार र गन्तव्य मुलुकस्थित दूतावास तथा नियोगसँग सहकार्य गरी सहजीकरण र समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संघकी महिला सचिव राधिका गुरुङले संघले नेपालमा सडक बालबालिकाको व्यवस्थापनको नोपल सरकारसँग सहकार्य र सम्झौता गरी विभिन्न गतिविधि अघि बढाउन लागेको जानकारी गराउँदै त्यसमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो । यस्तै, उहाँले संघले नेपालका विभिन्न स्थानमा महिला सशक्तिकरणको लागि सीपमुलक तालिमहरु उपलब्ध गराईरहेकोमा आगामी दिनमा पनि त्यसको बिस्तारको लागि सरकारसँग आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो । भेटमा मन्त्री चौधरीले गैरआवासीय नेपाली संघले गर्दै आएका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि आग्रह गर्नुभयो । नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि मन्त्रालयले गर्ने हरेक कार्यक्रममा संघसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाई थियो । नीतिगत सुधार तथा थप कार्यक्रमका सम्बन्धमा अन्तरमन्त्रालयगत समन्वय गरि अघि बढ्ने उहाँले बताउनुभयो ।