६ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री किरांती र राईसँग गेसोको भेटवार्ता

नेपालब्रिटेन डट कम्
११ माघ २०७९, बुधबार ०८:४४

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारका नवनियुक्त दुई मन्त्रीलाई भेटेर बेलायत तथा नेपालबीच जारी सरकारस्तरीय वार्ता सफल निष्कर्षमा पुर्‍याउन माग गरेको छ ।

भूतपूर्व गोर्खाका सन्तान समेत रहेका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किरांती र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईसँग गेसोले छुट्टाछुट्टै भेटवार्ता गरेको हो ।

सभापति कृष्णकुमार राई नेतृत्वको गेसो प्रतिनिधिमण्डल आइतबार मन्त्री किरांती र मंगलबार मन्त्री राईलाई भेट्न उनीहरुकै कार्यकक्षमा पुगेको थियो।

गेसो सभापति राईले मंगलबार एक वक्तव्य जारी गर्दै गोर्खा वार्ता सफल पार्न आवश्यक भूमिका खेलिदिन दुवै मन्त्रीहरुलाई आग्रह गरिएको जनाएका छन्।

बेलायतले गोर्खा सैनिकहरुमाथि सदियौँदेखि गर्दै आएको विभेद अन्त्यका लागि गोर्खाहरु समेतको सहभागितामा बेलायत र नेपाल सरकारबीच भइरहेको वार्ता सार्थक पार्न आवश्यक प्रभावकारी भूमिकाको लागि मन्त्रीहरुलाई आग्रह गरिएको थियो ।

सभापति राईका अनुसार त्यसअवसरमा मन्त्रीद्वय किरांती र राईले पूर्व गोर्खा परिवारका सदस्यका रुपमा आफूहरु पनि गोर्खाको समस्याबारे जानकार रहेको बताएका थिए।

उनीहरुले जारी गोर्खा वार्तालाई आफ्नै कार्यकालमा सफल निष्कर्ष दिने गरी पहल गर्ने प्रतिवद्धता समेत गरेका थिए।