१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यती एसोशिसयन यूकेको अध्यक्षमा बाचस्पति रेग्मीले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
१९ माघ २०७९, बिहीबार १३:२८

लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको अध्यक्षमा पूर्व डिएसपी बाचस्पति रेग्मीले उम्मेदवारी दिने भएका छन् ।

आउंदो ५ फेब्रुअरीमा निर्धारित अधिवेशनले आगामी २०२३ – २०२५ का लागि नयां कार्यकारिणी समितिको उम्मेदवारी दिने रेग्मीले नेपालब्रिटेन डट कमलाई जानकारी दिए । उनी संस्थाको बरिष्ठ उपाध्यक्ष तथा पूर्वमहासचिव समेत हुन् । ‘रोलक्रममा मेरो पालो हो, सामाजिक संस्थामा काम गर्छु भनेर लामो समय देखि लागेको छु । सहमतिमा अध्यक्ष चयन हुन्छ भन्ने विश्वास लिएको छु’ रेग्मीले भने

यती संस्थामा पहिलो पटक करिब ७ सय जनाले सदस्यताको लागि आवेदन दिएका छन् ।

नयां सदस्यता लिने तथा नवीकरणको समयसीमा ३१ जनवरी अपरान्ह ५ बजेसम्म थियो ।

इमेल, पोष्टल वा वेवसाइटमार्फत पनि नयां सदस्यता लिन वा नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो ।

निर्वाचन समितिका अनुसार प्रथम मतदाता नामावली प्रकाशन १ फेब्रुअरी २०२३ अपरान्ह ५ बजे, मतदाता नामावली उपर दावी विरोध २ फेब्रुअरी अपरान्ह ३ बजेसम्म, अन्तिम मतदाता नामावली प्रकाशन २ फेब्रुअरी अपरान्ह ५ बजेसम्म छ ।

उम्मेदवारी मनोनयन दर्ता ३ फेब्रुअरी दिउसो ३ बजेसम्म, उम्मेदवार उपर दावी विरोध ३ फेब्रुअरी अपरान्ह ५ बजेसम्म र उम्मेदवार नामावली प्रकाशन ३ फेब्रुअरी सांझ ७ बजेसम्म तोकिएको छ ।

त्यसैगरि, उम्मेदवारी मनोनयन फिर्ता ३ फेब्रुअरी राती ९ बजेसम्म र अन्तिम उम्मेवारी नामावली प्रकाशन ४ फेब्रुअरी बिहान १० बजे गरिने छ ।

ह्रारो बरो फुटबल क्लवमा अधिवेशन हुनेछ ।