१२ बैशाख २०८१, बुधबार
Follow Us

यती एसोसिएसन यूकेको अधिवेशन सम्पन्न

नेपालब्रिटेन डट कम्
२३ माघ २०७९, सोमबार २१:१२

लन्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको २९ औं अधिवेशनले नयां कार्यकारिणी समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

आइतबार लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा आयोजित अधिवेशनले पिपला देवानको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संस्थाकी पूर्व अध्यक्ष पिपला यतीमा लामो समयदेखि आवद्ध छिन् ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमाकुमारी गुरुङ, महासचिवमा टंक भट्टराई, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पूण्य रेग्मी निर्वाचित भएका छन् ।

त्यसैगरि, सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन निर्विरोध भए ।

सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिम तामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्।

निर्वाचन प्रमुख आयुक्त उमेशराज मोक्तानले निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराए ।

मोक्तान संयोजक रहेको निर्वाचन समितिमा राजकुमार त्रिपाठी सदस्यसचिव तथा राजेन्द्र पुडासैनी, राजन खकुराल, शंकर दाहाल, विपिन निरौला र मिन बांनिया सदस्य थिए ।

यतीमा यसपटक इतिहासकै सबैभन्दा बढी ६ सय ८७ सदस्य बनेका थिए ।


शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष पिपला देवानले आफू भाषणभन्दा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरिन् ।

पहिलोपटक अध्यक्ष बन्दा विभिन्न परिस्थितिले गर्न बांकी काम अबको कार्यकालमा पुरा गर्ने प्रण पनि उनले गरेकी छिन् । आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सबैप्रति उनले आभारसमेत व्यक्त गरिन् । पिपला नेतृत्वको कार्यसमितिमा आपतकालिन कोषका लागि झण्डै ५ हजार पाउण्ड संकलन भइसकेको छ ।

अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा भएको पहिलो औपचारिक सत्रमा केसीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नयां कार्यसमितिलाई बधाइ तथा शुभकामना दिए ।

केसीले यती संस्था कुनै जातजाती, धर्म एवं दलहरुको चाहना अनुशरण गर्ने नभएर निस्वार्थी, स्वच्छ, स्वतन्त्र र अनुशासित नेपाली डायस्पोराको पहिलो स्थापित सामाजिक संस्था रहेको बताए ।

२९ औं कार्यसमितिले केही ठोस काम गर्ने उद्देश्य लिएर पाइला चालेपनि कोभिड महामारी लगायत विविध कारणले त्यति सहज हुन नसकेको उनले उल्लेख गरे ।

महासचिव डा. मुकुन्द बास्तोलाले कार्यक्रम सञ्चालन गर्दै सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देव गुरुङले आयव्यय विवरण प्रस्तुत गरे ।

डा. बास्तोलाले अनलाइनबाट सबै गर्न सकिने गरी वेवसाइट अपग्रेड गरिएको, सिन्धुपाल्चोकमा ३१ घर धुरीलाई खानेपानी बन्दोबस्त गरिएको, कोभिडको बेलामा विभिन्न सामग्री वितरण तथा एनआरएनएसँग समन्वय गरि अक्सिजन प्लान्ट किन्न सहयोग, दशैँ कार्यक्रम, डा. श्याम चन्दको संयोजकत्वमा यती हाउस किन्न टास्क फोर्स गठन गरी कार्य अगाडि बढाइएको, जीवन विज्ञान यूकेसँग सहकार्य गरी एकहजार जनाको सहभागितामा विज्ञान सम्बन्धी कार्यक्रम, बेलायतका प्रमुख संघसंस्थाहरुसँग समन्वय तथा सहकार्य आदि गरिएको प्रतिवेदन पेश गरेका थिए ।

प्रस्तुत प्रतिवेदनहरुमाथि सुरेशजंग शाह, डा. कृष्ण उपाध्याय, शशीधर नेपाल, आर के त्रिपाठी, शंकर दाहाल, विपिन निरौला लगायत सदस्यहरुले विभिन्न सुझाव दिएका थिए । सुझावसहित प्रतिवेदनहरु पारित गरियो ।

कार्यक्रममा यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले यतीको ऐतिहासिक पक्ष स्मरण गर्दै नयां कार्यसमितिले अझ गौरवपूर्ण काम 
गर्ने आशा व्यक्त गरे ।

एनआरएनए विदेशमा बस्ने नेपालीहरुको साझा संस्था भएजस्तै यती एसोसिएसन बेलायतमा बस्ने समस्त नेपालीहरुको साझा संस्था भएको पनि डा. धितालले बताए ।

औपचारिक कार्यक्रममा ट्रष्टीका तर्फबाट विजय थापाले यती फाउण्डेशनको स्थापना, यसको घर खरिद र विक्री, हाल वचत रहेको रकम आदिबारे प्रष्टयाएका थिए ।

सो अवसरमा डा. श्याम चन्द, उमेशराज मोक्तान, आर के त्रिपाठी लगायतले मन्तव्य व्यक्त गरेका थिए भने मदन थापाले नेपाल प्रेम झल्कने एउटा गीत प्रस्तुत गरे ।

निर्वाचित कार्यसमितिलाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, पूर्व अध्यक्ष योगेन क्षेत्री, वरिष्ठ पत्रकार सुमन खरेल, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली लगायत अतिथीले प्रमाणपत्र तथा खादाले सम्मान गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मीले स्वागत मन्तव्य दिएका थिए । तस्विरहरु- शिव भण्डारी