१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ठेकेदार उपकरण उठाएर टाप

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७९, बुधबार ०४:२०

खोटाङ । खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी सामान उठाएर हिँडेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडेको हो । पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामान उठाएर लगेको हो ।

निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको हो । लामो समयसम्म अलपत्र बनेको निर्माणस्थलमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्वन्धित मालिक आएर लगेका हुन् ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । तर, दुबै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको प्रदेशसभा सदस्य पाँचकर्ण राईले बताए । कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

कालोपत्रेको काम गुणस्तरहिन 
महुरे–फोक्सिङटार सडक आसपासका स्थानीयले कालोपत्रेको काम अलपत्र हुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएको, भएका काममा पनि गुणस्तर काम नभएको, सडकमा खाल्डाखुल्डी हुँदा आवत–जावतमा समस्या भएको, सडक दुर्घटना भएको गुनासो गरेका छन् । निर्माणका क्रममा सिमेन्ट र बालुवाको मात्रा नमिलाई प्रयोग गरेको, कटिङकै माटोलाई बेसका रुपमा प्रयोग गरेको, कमसल तरिकाले बनाइएको पर्खाल उक्किन थालेको छ ।

काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मूख्य ठेकेदार सम्पर्क विहिन बनेर बस्ने गरेका छन् । हालसम्म १४ जना साईड इन्चार्ज परिवर्तन गरिसकेको स्थानीय बताउँछन् । यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन् । सडकको काम चाँडो गर्नका लागि दवाव दिन हरेक प्रमुख जिल्ला अधिकारी समक्ष डेलीगेसन पुगेको वडाध्यक्ष राईले बताए ।