१५ चैत्र २०८०, बिहीबार
Follow Us

टर्की भूकम्प पिडितको लागि एनआरएनएले ५ हजार डलर सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२९ माघ २०७९, आईतवार २१:४२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टर्कीमा गतसाता आएको भूकम्पबाट पिडित नेपालीहरुको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाको अध्यक्षतामा आइतवार बसेको पदाधिकारी बैठकले टर्कीमा भूकम्पबाट पिडित रहेका नेपाली समुदायलाई ५ हजार अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो ।

सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या २४ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गैरआवासीय नेपाली संघ टर्कीका अनुसार बिभिन्न पेशामा रहेका दुई हजार भन्दा बढी नेपालीहरु त्यहाँ बसोबास गर्दै आएका छन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माका अनुसार संघले एनआरएनए राष्ट्रिय समिति मार्फत आर्थिक सहयोग पठाउने तयारी गरेको हो । एनआरएनए टर्कीले थप आर्थिक सहयोग संकलन गरेर पिडितलाई सहयोग गर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो पाँच वर्षमा ५ हजार ५ सय १६ जना टर्की गएका छन्। ३ हजार ४ सय ८८ पुरुष र २ हजार २८ महिलाले टर्कीका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिन्छ। त्यहाँ रहेका नेपाली पनि भयभित अवस्थामा छन्। भूकम्पग्रस्त क्षेत्रमा रहेका नेपाली सकुशल रहेका र सुरक्षित स्थानतर्फ गइरहेका छन्।

अहिलेसम्म कोही नेपालीको निधन नभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङले बताए। ‘नेपालीहरूको अहिलेसम्म मृत्यु भएको जानकारी आएको छैन’, अध्यक्ष घिसिङले भने, ‘समस्यामा परेकाहरूलाई समन्वय गरी सहजीकरण गरिरहेका छौं।’ प्रभावित क्षेत्रमा रहेका नेपालीलाई अन्य ठाउँमा सार्ने काम भइरहेको उनको भनाइ छ। ‘घरेलु कामदार, विद्यार्थी र होटलमा काम गर्नेहरू ३० जना सिफ्ट भइसकेका छन्’, घिसिङले भने, ‘केही विद्यार्थीलाई कलेजले पनि सिफ्ट गरिरहेको छ।’

एनआरएनए टर्कीका महासचिव विनोद पौडेलले ३० मध्ये १४ जना विद्यार्थी र अरू हाउसमेड (घरेलु कामदार) रहेका बताए। ‘धेरैजसो नेपाली घरबेटीसँगै सुरक्षित ठाउँमा गएका छन्’, महासचिव पौडेलले भने, ‘केही जागिर र कामको कारणले भूकम्पप्रभावित क्षेत्रमै छन्।’ आश्रयस्थल र होटलमा बसेका उनको भनाइ छ।

विश्व बैंकले भूकम्पपीडितको उद्धार र राहतका लागि १ अर्ब ७८ करोड अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । अमेरिकी सरकारले ८ करोड ५० लाख अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेको छ ।

भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् ।