७ बैशाख २०८१, शुक्रबार
Follow Us

घले समूहसंग मार्च महिनाभित्र एकता हुन्छ : रविना थापा, एनआरएनए कार्यकारी अध्यक्ष

नेपालब्रिटेन डट कम्
२९ माघ २०७९, आईतवार २२:३८

लण्डन् । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले असन्तुष्ट पक्षलाई समेटेर संस्थालाई एकताबद्ध बनाएर अघि बढ्न वार्ताको प्रकृया सुरु भैसकेको बताएकी छन् ।

थापाले आइतवार अमेरिकाबाट संचालित एक अनलाइन प्रोटललाई दिएको अन्तरवार्तामा आफुले संघका पूर्व अध्यक्ष शेष घलेलाई भेटेर संस्थालाई एक बनाउनको लागि आवश्यक पहल गर्न आग्रह गरेको बताइन् । उनले भनिन् ‘पूर्वअध्यक्ष घले निकै सकरात्मक हुनुहुन्छ । उहाँमा संस्थाको एकताको चासो र चिन्ता रहेको पाए । छिट्टै एकता हुन्छ ।’

थापासंगको भेटमा घलेले असन्तुष्ट पक्षमा रहेका नेताहरुसंग समन्वय गरेर एकताको प्रकृया अघि बढाउन आग्रह गरेका थिए ।

थापाले असन्तुष्ट पक्षसंग पटक पटक वार्ता भएको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको प्रकृति अन्य संस्थाको भन्दा फरक भएको तर्क गर्दै संस्थाभित्र एकता गर्नुको अर्को विकल्प नभएको बताइन् ।

उनले आगामी मार्च महिनाभित्र असन्तुष्ट पक्षलाई समेटेर लैजाने प्रयास हुने बताइन् । थापाले राष्ट्रिय समिति (एनसीसीहरु) को निर्वाचन प्रकृया सुरु भैसकेको अवस्थामा तुरुन्त वार्तामा बसेर एकता गर्नु पर्नेमा जोड दिएकी छन् ।

घलेको पुरानै अडान, अदालतबाटै ठेगान लगाउने हठ

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संघका पूर्वअध्यक्ष शेष घलेले संघभित्र एकता भन्दा उनको नेतृत्वमा गत मार्च महिनामा काठमाण्डौंस्थित याक एण्ड यती होटलमा भएको महाधिवेशनलाई मान्यता दिनु पर्ने पहिलो सर्त राखेका छन् ।

घलेकै निर्देशनमा संघकी पूर्वसचिव जानकी गुरुङले गत डिसेम्बर महिनामा संघबिरुद्ध सर्वोच्च आदालतमा मुद्दा दायर गरेकी छन् । घले समूहले आफ्नो समूहले गरेको महाधिवेशनले पारित गरेको विधानलाई परराष्ट्र मन्त्रालयले मान्यता नदिएको भन्दै मुद्दा दायर गरेको छ । सो मुद्दा अहिले सर्वोच्चमा विचाराधिन छ ।