१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सदस्यता वितरणलाई तीब्र पार्दै एनआरएनए, १९ तारिखमा सबै एनसीसीलाई बोलाइने

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७९, बुधबार ०४:०३

लण्डन । गैरआवासीय नेपाली संघको अक्टोवर महिनामा हुने ११ औं विश्व सम्मेलन तथा महाधिवेशनका लागि विश्वव्यापी सदस्यता वितरण तीब्र पारिएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघ गत महाधिवेशनमा जस्तै संस्थाको केन्द्रीय सदस्यता वितरण प्रणाली एमआईएसमार्फत सुरु गरेको हो ।

संघका अनुसार विश्वभर छरिएका राष्ट्रिय समिति (एनसीसी) हरुले गोपनियतासम्बन्धी एक सम्झौता (एनडिए) मा एनआरएनए आइसीसीसँग गरेपछि आफ्नै देशबाट सदस्यता वितरण गर्न सक्ने छ । संघका ८६ देशमा राष्ट्रिय समिति रहेको छ। संघको विधानअनुरुप सबै राष्ट्रिय समितिले जुलाईको अन्तिम साताभित्र महाधिवेशन गरिसक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

महासचिव जोशीका अनुसार संघले आगामी १९ फेब्रोअरीमा संघका राष्ट्रिय समितिलाई सदस्यता वितरणसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय समितिहरुले सदस्यता व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत रुपमा जानकारी लिन सक्ने छन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको सदस्यता वितरणसम्बन्धी व्यवस्था गत महाधिवेशनकै निरन्तरता भएको भन्दै थप परिमार्जनसहित एमआईएस सिस्टमलाई व्यवस्थित गरिएको बताए । संघले पहिलो पटक सदस्यहरुको फेस भेरिफिकेशन प्रणाली लागू गरेको छ । यो प्रणालीमा फेस भेरिफिकेशन गरेर सदस्यता वितरण हुने भएकाले अनियमितता अन्त्य हुने विश्वास गरिएको छ ।

एमआईएसमार्फत सदस्यता लिएपछि सदस्यहरुले आफ्नो डिजिटल परिचयपत्र प्राप्त गर्ने छन् । सोही परिचयपत्र देखाएर बिभिन्न बैंकमा खाता खोल्ने, होटेल रेष्टुरेन्ट, एयरलाइन्स् र अस्पतालमा भारी छुट लिन सकिने छन् ।

यसअघि गैरआवासीय नेपाली संघले अर्का महासचिव डा. केशव पौडेलको संयोजकत्वमा स्मार्ट एनआरएनए उपसमिति गठन गरेको थियो । समितिको सदस्य सचिवमा होम पाण्डे (अष्ट्रेलिया) र सदस्यहरुमा गोपेन्द्र भट्टराई (अमेरिक), शशी श्रेष्ठ (डेनमार्क), बालकृष्ण श्रेष्ठ (फिनल्याण्ड), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानाडा) र सल्लाहकारमा गौरीराज जोशी रहेका छन् ।